काठमाडौं- नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले सरकारले आफूमाथि अन्यायपूर्ण व्यवहार गरेको दाबी गर्दै न्यायका लागि अदालत जाने बताएका छन्।
उपसचिव सञ्जेलले निजामती कर्मचारी ऐन विपरीत आफूलाई ७० दिन पनि नपुगी विराटनगर श्रम कार्यालयबाट सरुवा गरिएको तथा तलबसमेत रोक्का गरेको उल्लेख गर्दै न्यायका लागि दुई दिनभित्रै सर्वोच्च अदालत जाने बताएका हुन्।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले दुई वर्ष काम गर्न दिनुपर्नेमा निजामती ऐन विपरीत आफ्नो सरुवा भएको दाबी गरे। 'श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले आफूलाई ऐन विपरित ७० दिनमै सरुवा गरेका हुन्। उनीमाथि विभागीय कारबाही गर्न माग गर्दछु,' उनले भने।
आफूलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गैर कानुनी ढंगले सरुवा गरेर दुःख दिएको उपसचिव सञ्जेलको भनाइ छ।
उपसचिव सञ्जेलले आफूलाई गरिएको सरुवा गैरकानुनी भएको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जानकारी गराएको उल्लेख गर्दै त्यसमा सचिव दाहालले अझै सुनुवाई नगरेकोमा पनि आक्रोश व्यक्त गरेका थिए।
आफू भ्रष्टाचारविरोधी भएकाले अन्यायमा पार्ने काम भइरहेको उपसचिव सञ्जेलको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।