दुबई– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले भारत र पाकिस्तानबीच एकदिवसीय विश्वकपको खेल निर्धारित मितिमा हुने संकेत दिएको छ। आगामी जुन १६ मा म्यानचेस्टरमा हुने खेल बहिस्कार गर्न भारतीय क्रिकेट कन्ट्रोल बोर्डले पत्रचार गरेपछि आइसिसीले प्रतिक्रिया सार्वजनिक भएको हो।
जम्बु कास्मिरमा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीचको सम्बन्ध चिसिएसँगै त्यसको असर क्रिकेटमा परेको थियो।
'सबै सदस्यसँग हामीले छलफल गरिरहेका छौं,' आइसिसीको भनाइ उल्लेख गर्दै बिबिसीले लेखेको छ,'घटनाबाट सबैलाई असर परेको हाम्रो धारणा हो। खेल, त्यसमा पनि क्रिकेटले सबैलाई एकतामा बध्न सक्छ। हामी यहि अवधारणालाई आत्मसात गर्दै अघि बढ्छौं।' आइसिसीले अघि भनेको छ,'विश्वकपका कुनै खेलपनि योजना अनुसार नहुने कुनै संकेत छैन।'
यसअघि भारतीय क्रिकेट कान्ट्रोल बोर्डको शुक्रबार बसेको बैठकले पाकिस्तानलाई विश्वकपमा प्रतिबन्ध लागउन पत्राचार गर्ने निर्णय गरेको थियो। पत्राचारपछि भारतका पूर्व क्रिकेट सचिन तेन्दुलकरले फरक मत राखेका थिए। उनले विश्वकपमा पाकिस्तान विरुद्ध नखेल्दा भारतको २ अंक कम गुम्ने बताउँदै विश्वकपमा खेल खेल्नु पर्ने तर्क गरेका थिए। भारतका पूर्व कप्तान सुनील गावस्करले पनि पाकिस्तान विरुद्ध क्रिकेट खेल्नु पर्ने बताएका थिए।
पूर्वक्रिकेटर हरवजन सिंह लगायतले भने भारतले पाकिस्तान विरुद्धको खेल बहिस्कार गर्नु पर्ने बताउँदै आएका छन्। भारतीय कप्तान विराट कोहली भारतीय सरकार र क्रिकेट बोर्डको निर्णयअनुसार अघि बढ्ने आइतबार प्रतिक्रिया दिएका थिए।
पाकिस्तानका कप्तान सर्फराज अहमेदले भारत र पाकिस्तानबीचको खेल यसअघि तय खेल तालिकाअनुसार खेल्नु पर्ने बताएका थिए। उनले करोडौंले दुई देशबीचको खेल हेर्न चाहेको बताउँदै क्रिकेटलाई राजनीतिक स्वार्थमा प्रयोग गर्न नहुने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।