काठमाडौ– प्रधान न्यायाधीश चोलेन्द्र सम्सेर राणाले भ्रष्टाचारको मुद्दा हेर्ने विशेष अदालतमा कार्यरत तीन न्यायाधीशलाई सरुवा गरेका छन्।
प्रधानन्यायाधीश राणाले विशेष अदालतका न्यायाधीशहरु चण्डीराज ढकाल, रत्नबहादुर बागचन्द र नारायाण पोखरेलाई सरुवा गरेका हुन्। प्रधानन्यायाधीशको निर्देशनमा ढकाल र बागचन्दलाई जुम्लामा सरुवा गरिएको छ भने पोखरेललाई राजविराज सरुवा गरिएको हो।
न्यायपरिषद्को सहमतिमा प्रधानन्यायाधीश राणाले विशेष अदालतका ३ जना न्यायाधीशलाई सरुवा गरेका न्याय परिषद्ले जनाएको छ।
न्याय सम्पादनका क्रममा बिचौलियासँग भेटेको, मुद्दाका पक्षसँग सम्पर्कमा रहेको जस्ता उजुरी परेपछि प्रधानन्यायाधीश राणाले तीन जनालाई सरुवा गरेका हुन्। विवादमा आएको व्यक्तिलाई उक्त स्थानमा राख्दा थप विवाद हुने भएपछि अन्य उच्च अदालतमा सरुवा गरिएको परिषद स्रोतले बताएको छ।
पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीका कार्यकालमा उनीहरू विषेश अदालतमा न्यायाधीश नियुक्त भएका थिए।
यसअघि प्रधानन्यायाधीश राणाले ३३ सय किलो सुन तस्करीसम्बन्धी मुद्दामा कैफियत गरेको भन्दै उच्च अदालत विराटनगरका मुख्य न्यायाधीशसहित अन्य न्यायाधीश छानबिनमा रहेका छन्। तीन जना जिल्ला न्यायाधीशहरु पनि परिषद्मा छानबिन भइरहेको छ।
प्रधानन्यायाधीशको नेतृत्व लगत्तै राणाले आक्रामक रुपमा न्यायालय सुधार गर्ने भन्दै यसरी सरुवा र छानबिनमा उत्रिएका छन्।
विशेषमा कर फर्स्योट आयोगका सदस्य सचिव चुणामणि शर्मा, पप्पु कन्स्ट्रक्सन, पोलिमर नोट प्रकरण, राप्रपा नेता विक्रम पाण्डेलगायतका ठूला भ्रष्टाचार काण्डका मुद्दा विचाराधीन रहेको अवस्थामा प्रधानन्यायाधीश राणाले विशेषका न्यायाधीहरुको सरुवा गरेका हुन्।
हरेक दुई वर्षमा न्यायाधीशहरुको सरुवा हुने व्यवस्था छ। तर राणा प्रधानन्यायाधीश भएपछि न्यायाधीश सरुवामा खरो प्रस्तुत भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।