काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी सम्बन्धी विनियमावली २०७३ लाई ‘बाइपास’ गर्दै २२ व्यवसायीका ३२ वटा ट्यांकर सञ्चालनका लागि अनुमति दिएको पाइएको छ।
विनियमावलीले कुनै पनि व्यवसायीलाई ट्यांकर सञ्चालनका लागि सार्वजनिक सूचना गर्नुपर्ने प्रावधान भए पनि निगमले सूचना बिना नै ट्यांकर सञ्चालनको अनुमति दिएको पाइएको हो।
पेट्रोलियम पदार्थ ढुवानी गर्ने गरी सञ्चालनको अनुमति दिइएका ती ट्यांकरहरूले कानुनविपरीत अनुमति पाएको भेटिएपछि निगम आफंैले सञ्चालनमा रोक लगाएको छ।
व्यवसायीलाई ट्यांकर सञ्चालनको अनुमति दिने भन्दै निगमले २०७४ बैसाख २१ गतेदेखि जेठ १७ गतेसम्म निगममा दर्ता गर्न लगाएको देखिन्छ।
तर, निगमको सञ्चालक समितिमा ट्यांकरलाई सञ्चालन अनुमति दिइनु कानुनविपरीत भएको भन्दै ‘खैलाबैला’ मच्चिएपछि अनुमति रोक्का गरिएको निग स्रोतको भनाइ छ।
निगमको २०७३ साउन १८ गतेको सञ्चालक समितिले ढुवानीको लागि स्वीकृति दिएकोमा विद्यमान ढुवानी नियमावलीसँग फरक पर्न गएको भन्दै स्वीकृतिपत्र खारेज गर्ने निर्णय गरेको थियो।
पछि आवश्यक रहेको स्थानमा ट्याङ्क राख्ने अनुमति दिँदा हाल खारेजीमा परेका निवेदनहरूलाई प्राथमिकतामा राखी स्वीकृत गर्ने निर्णयसमेत उक्त सञ्चालक समितिले गरेको देखिन्छ।
संसदीय समितिमार्फत फुकुवा गर्न दबाब
पेट्रोल, डिजेल र मट्टितेल ढुवानीको अनुमति पाएर ट्यांकर खरिदसमेत गरिसकेका व्यवसायीले डेढ वर्षसम्म पनि निगमले सञ्चालन अनुमति फुकुवा नगरेपछि संसदीय समितिलाई गुहारेका छन्।
व्यवसायीले आफ्ना ट्यांकर सञ्चालनका लागि पहल गरिदिन भन्दै सांसदमार्फत् मन्त्रालयलाई दबाब दिइरहेका छन्।संससीय समितिले मन्त्रालयलाई ट्यांकर सञ्चालनमा लगाइएको रोक्का फुकुवा गर्न भन्दै २ पटक पत्र पठाइसकेको छ। पछिल्लो समय व्यवसायी ट्यांकरको चाबी बुझाउन मन्त्रालय मै पुगेको मन्त्रालयका सहसचिव नवराज ढकालको भनाइ छ।
संसदीय समितिले मन्त्रालय र मन्त्रालयले निगमलाई दबाब दिन थालेपछि ती ट्यांकरहरूको सञ्चालनमा लगाएको रोक फुकुवा गर्ने विषयलाई निगमले आफ्नो सञ्चालक समितिमा गरेर निर्णय गर्ने तयारी भइरहेको समेत निगम स्रोतको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।