काठमाडौं- सरकारले नेपालमा लगानी गर्ने चाहने विदेशी लगानीकर्तालाई लगानी गर्ने रकम र लगानी हिस्साको अधिकतम सीमा नतोक्ने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले संघीय संसद्को प्रतिनिधि सभामा दर्ता गराइएको ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५ मा यस्तो व्यवस्था गरिएको छ।
विधेयकको दफा १७ मा ५ अर्ब रुपैयाँसम्मको विदेशी लगानीको लागि उद्योग विभाग र ५ अर्बभन्दा बढीको विदेशी लगानीमा लगानी बोर्डले स्वीकृत दिने व्यवस्था गरिएको छ।
तर, लगानी बोर्डको क्षेत्र अधिकारभित्र पर्ने विषयमा लगानी बोर्ड ऐन २०६८ अनुसार हुने विधेयकमा उल्लेख गरिएको छ।
कहाँ-कहाँ विदेशी लगानी?
संसदमा दर्ता भएको विधेयकको दफा ३ (१)मा विदेशी लगानीकर्ताले कुनै उद्योगमा विदेशी लगानी गर्न र त्यस्तो लगानीको लाभ प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ।
तर, विदेशी लगानी खुला नगरिएका उद्योग वा व्यवसायका हकमा भने विदेशी लगानीबाट सञ्चालित उद्योगले आर्जित गरेको नाफा वा अन्य तरिकाबाट विदेशी लगानी गर्न नसक्ने व्यवस्था गरेको छ।
दफा ३ को उपदफा ३ मा कुनै पनि उद्योगमा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको भन्दा कम रकमको विदेशी लगानी स्वीकृत नगर्ने व्यवस्था छ।
संसद्म दर्ता भएको विधेयको दफा ४ मा भने विदेशी लगानीकर्ताले एकल वा संयुक्त रुपमा वा नेपालका स्थापित उद्योग वा नेपाली नागरिकसँग संयुक्त रुपमा पनि उद्योग स्थापना गरी विदेशी लगानी गर्न सक्ने व्यवस्था गरेको छ।
साथै विधेयकमा उद्योगको जायजेथा वा सेयर खरिद गरी विदेशी लगानी गर्न सक्ने व्यवस्था पनि गरेको छ।
यसैगरी संसदमा दर्ता भएको विधेयकमा विदेशी लगानीकर्ताले हवाइजहाज, पानीजहाज, मेसिन, औजार, निर्माण उपकरण वा अन्य यस्तो उपकरणमा तोकिएको सीमाको अधीनमा रही लिज लगानी समेत गर्न सक्ने व्यवस्था गरेको छ।
साथै विधेयकको दफा ७ को उपदफा १ मा विदेशी लगानीकर्ताले नेपालमा स्थापित कुनै उद्योगका प्रविधि हस्तान्तरण गरी विदेशी लगानी गर्न सक्ने व्यवस्था गरेको छ।
हस्तान्तरण सर्तहरु भने सम्बन्धित उद्योग र विदशी लगानीकर्ताबीच भएको सम्झौताअनुसार हुने व्यवस्था गरेको छ।
यसरी भएको सम्झौताका तोकिएको सीमाभन्दा बढी रोयल्टी रकम भने फिर्ता लैजान नपाउने व्यवस्था विधेयकमा गरिएको छ।
यसैगरी विधेयकको दफा ८ को उपदफा १ मा विदेशमा स्थापना भएका कुनै उद्योगले नेपालमा शाखा उद्योग स्थापना गरी विदेशी लगानी गर्न पाउने व्यवस्था गरेको छ।
साथै संसदमा दर्ता भएको विधेयकमा पूँजी लगानी कोष खडा गरेर पनि विदेशी लगानी गर्न सक्ने व्यवस्था गरेको छ।
यसका लागि संस्थागत लगानीकर्ताले कुनै उद्योगमा इक्विटी लगानी गर्ने प्रयोजनको लागि प्रचलित कानुन बमोजिम कम्पनी स्थापना गरी धितोपत्र बोर्डको स्वीकृति लिई पूँजी लगानी कोष (भेन्चर क्यापिटल फन्ड) खडा गर्न सक्ने व्यवस्था विधेयकले गरेको छ।
यसैगरी संसद्मा दर्ता भएको विधेयकमा धितोपत्र जारी गरी ऋण लिन वा विदेशी मुद्रा प्राप्त गर्न सक्ने व्यवस्था पनि गरेको छ। यसका लागि नेपालमा स्थापना भएको कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा धितोपत्र जारी गर्न प्रचलित काुनन बमोजिम अख्तियारी पाएको संगठित संस्थाले नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डको स्वीकृति लिनु पर्ने व्यवस्था गरेको छ।
यसबाट विदेशी मुलुकको पूँजीबजारमा ऋणपत्र, डिभेञ्चर वा अन्य धितोपत्र जारी गरेर ऋण लिन वा विदेशी मुद्रा प्राप्त गर्न सक्ने व्यवस्था विधेयकमा गरिएको छ।
यसैगरी विधेयकको दफा १२ मा विदेशी लगानी भएका कुनै पनि उद्योगले प्रचलित नेपालको कानुन बमोजिम मन्त्रालयको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृतिमा विदेशी सरकार वा वित्तीय संस्थाबाट परियोजना ऋण वा परियोजना लगानी सम्झौता गरी ऋण लिन पाउने व्यवस्था समेत गरेको छ।
विधेयकको दफा २० मा विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजान पाउने व्यवस्था समेत गरेको छ।
विदेशी लगानीकर्ताले नेपालको प्रचलित कानुनबमोजिम आफ्नो लगानी वा उद्योग पूर्ण वा आंशिक रूपमा बिक्री गरी नेपालको कानुनअनुसार लाग्ने कर भुक्तानी गरी रकम फिर्ता लैजान पाउने व्यवस्था समेत गरिएको छ।
यस्ता छन् रकम फिर्ता लैजान पाउने अवस्था
१. विदेशी लगानको सेयर बिक्रीबाट प्राप्त रकम
२. विदेशी लगानीबाट प्राप्त मुनाफा वा लाभांश बापतको रकम
३. उद्योग वा कम्पनी खारेजी वा लिक्विडेसनमा गई खारेजी वा लिक्विडेसन पश्चात् सम्पूर्ण दायित्व चुक्ता गरी बाँकी रहन आउने रकम
४. प्रविधि हस्तान्तरण सम्झौता अन्तर्गत प्राप्त रोयल्टी रकम
६. लिज लगानी अन्तर्गत लिज भाडा रकम
७. नेपालमा चलेको मुद्दा, मध्यस्ता वा अन्य कुनै लगानी प्रक्रियाको अन्तिम व्यवस्थापनबाट प्राप्त गरेको कुनै हर्जाना वा क्षतिपूर्ति रकम
८. प्रचलित कानुन बमोजिम फिर्ता लैजान पाउने रकम (रकम फिर्ता लैजादा परिवत्र्य विदेशी मुद्दा रकम फिर्ता लैजाँदा विनियम दरमा सटही गरी लैजानुपर्छ)
साथै विधेयकको दफा ३३ मा विदेशी लगानी भएका उद्योगलाई राष्ट्रियकरण नगरिने समेत उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।