काठमाडौं– सिवाइसी अत्तरियाले धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। शनिबार कैलालीको धनगढीस्थित फाप्ला मैदानमा भएको फाइनल भिडन्तमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै अत्तरियाले पहिलो पटक डिपिएलको उपाधि जितेको हो।
महेन्द्रनगरले दिएको १ सय २४ रनको सामान्य लक्ष्य अत्तरियाले १ बल बाँकी छदा ७ विकेटको क्षतिमा पार गर्यो। जितका लागि अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा सनी पटेलले चौथो बलमा छक्का प्रहार गरेका थिए। अत्तरियालाई उपाधि जिताउन उत्कृष्ट ब्याटिङ गरेका सनीले नटआउट ४७ रन जोडे। उनले २६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
त्यसअघि ओपनिङ ब्याट्सम्यान जयकिशन कोल्शावालाले ३० रनले योगदान गरेका थिए। उनले २७ बलमा ५ चौका हिर्काए। अर्का ओपनर ज्ञानेन्द्र कुँवर ७ रनमा आउट हुँदा सन्दीप जोराले २ रन भन्दा बढी बनाउन सकेनन्। कप्तान दीपेन्द्रसिंह ऐरीले १७ रनको योगदान दिए। रित गौतम खाता नै नखोली आउट भएका थिए भने भुवन कार्कीले ८ रनमा आउट भए। लगत्तै कमलसिंह ऐरी पनि ३ रनमै आउट भए। तर सनीले उत्कृष्ट ब्याटिङ गरे।
बलिङमा महेन्द्रनगरका मोहमद नविद र सागर ढकालले २-२ विकेट लिए। अभिनास बोहोरा र सहाब अलामको नाममा १–१ विकेट रह्यो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगर १ सय २३ रनमा अलआउट भयो। महेन्द्रनगरका लागि दिलीप नाथाले ४३ रन जोडे। ओपनिङ ब्याट्सम्यान नाथले ४१ बलमा ५ चौका र १ छक्का हिर्काए। मोहमद नविदले १० रन र आरिफ शेखले ११ रन बटुले। कुशल मल्लले २२ बलमा १ चौका र २ छक्का हिर्काउदै २५ रन र रोहितकुमार पौडेलले २० बलमा १ चौका र १ छक्काको मद्दतमा २४ रन बनाए।
बलिङमा अत्तरियाका दीपेन्द्रसिंह ऐरी र दीपेन्द्र रावतले २–२ विकेट लिए। सनी पटेलले १ विकेट हात पारे। पटेल खेलको म्यान अफ म्याच र प्रतियोगिताको म्यान अफ दि सिरिज दुवै भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।