काठमाडौं- तेस्रो संस्करणको पिंकाथन हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) की कान्छीमाया कोजुले जितेकी छिन्।
आज प्रहरी प्रधान कार्यालय नक्सालमा भएको उक्त प्रतियोगितामा कान्छीमायाले निर्धारित दुरी एक घन्टा २१ मिनेट ४४ सेकेन्डमा पूरा गर्दै उपाधि जितेकी हुन्।
उपाधिसँगै कान्छीमायाले रु ५१ हजार प्राप्त गरिन्। यसअघिका दुवै संस्करण उनैले जितेकी थिइन्।
त्यसैगरी नेपाल प्रहरीकी राजपुरा पछाईंले निर्धारित दुरी एक घन्टा २४ मिनेट ३३ सेकेन्डमा पूरा गर्दै दोस्रो भइन्। त्यसैगरी सशस्त्र प्रहरीकै पुष्पा भण्डारी तेस्रो भइन्। पुष्पाले निर्धारित दुरी एक घन्टा २७ मिनेट ३० सेकेन्डमा पूरा गरेकी थिइन्। दोस्रो भएकी राजपुराले रु ३१ हजार र तेस्रो भएकी पुष्पाले रु २१ हजार प्राप्त गरे।
यसैगरी १० किलोमिटरतर्फ एपिएफकी सन्तोषी श्रेष्ठ प्रथम, चन्द्रा राउत दोस्रो तथा सरस्वती कठायत तेस्रो भए।
विजेता खेलाडीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित बलिउड मोडल मिलिन्द सोमन, नेपाल ओलम्पिक कमिटीका उपमहासचिव राजिव श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे।
भारतीय अभिनेता मिलिन्द सोमनले सुरु गरेको पिंकाथन भारतमा निकै लोकप्रिय छ। भारतका विभिन्न सहरमा आयोजना हुँदै आएको प्रतियोगिता नेपालमा सन् २०१७ देखि सुरु भएको हो। यो प्रतियोगिता सन् २०१७ देखि लेजर पोर्ट नेपालले यो इभेन्ट नेपालमा गर्दै आएको छ।
आजको प्रतियोगितामा करिब २ हजार ५ सय महिला सहभागी भएको आयोजक संस्थाका प्रबन्ध निर्देशक नमराज जोशीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।