एजेन्सी– गत साता जम्बु कास्मिरमा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तान बीचको सम्बन्धमा दरार आएको छ। भारतले हमलामा पाकिस्तानको हात रहेको आरोप लगाउँदै आएको छ। तर पाकिस्तानले त्यसको खण्डन गर्दै आरोप प्रामणित गर्न भारतलाई चुनौती दिँदै आएको छ।
दुई देशको सम्बन्ध चिसिरहेको बेला त्यसको असर खेल क्षेत्रमा पनि पर्न थालेको छ। केहि दिनअघि मात्र भारतले पाकिस्तानका दुई सुटिङ खेलाडीलाई भिसा दिन अस्वीकार गरेको थियो। जसका कारण अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) ले भारतमा भइरहेको विश्वकप सुटिङका लागि दिइएको ओलम्पिकको दुई वटा कोटा कटाइदिएको थियो। भारतले विश्वका सबै खेलाडीलाई खेल्न दिने ग्यारेन्टी नगरेसम्म आइओसीले भारतलाई अब कुनै पनि ओलम्पिकका प्रतियोगिता आयोजना गर्न नदिने पनि निर्णय गरेको छ।
सुटिङपछि क्रिकेटमा पनि विवादमा मुछिएको छ। आगामी मार्च अन्तिम साताबाट इंग्ल्यान्ड र वेल्समा हुने एकदिवसीय विश्वकपमा पाकिस्तानलाई प्रतिबन्ध लागउनका लागि भारतले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) लाई पत्राचार गरेको छ। विश्वकपमा आगामी जुन १६ मा भारत र पाकिस्तानबीच म्यानचेस्टरमा खेल हुने तय छ।
कतिपयले पाकिस्तानविरुद्ध भारतले खेल्न नहुने तर्क गरिरहेका छन्। फलस्वरुप भारतले पाकिस्तानलाई विश्वकपमै प्रतिबन्ध लगाउन आइसिसीमाथि दबाब दिन थालेको छ।
भारतीय क्रिकेट कान्ट्रोल बोर्डको शुक्रबार बसेको बैठकपछि अध्यक्ष विनोद रायले पाकिस्तानलाई प्रतिबन्ध लागउन पत्रचार गर्ने निर्णय गरेको बताएका थिए। यद्यपी आइसिसीले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले पाकिस्तानलाई प्रतिबन्ध लागउन पत्राचार गरेपछि भारतका पूर्व क्रिकेट सचिन तेन्दुलकरले फरक मत राखेका छन्। उनले विश्वकपमा पाकिस्तान विरुद्ध नखेल्दा भारतको २ अंक कम गुम्ने बताएका छन्। विश्वकपमा भारतले पाकिस्तानविरुद्ध सधैं जित हात पारेको बताउँदै फेरि अर्को पटक भारतले पाकिस्तानलाई हराउने अवसर भएको उनको तर्क छ।
यता भारतका पूर्व कप्तान सुनील गावस्करले पनि पाकिस्तान विरुद्ध क्रिकेट खेल्नु पर्ने बताएका छन्। उनले 'भारतले पाकिस्तानविरुद्ध विश्वकपमा प्रतिस्पर्धा नगरे कसले जित्छ ?' भनेर प्रश्न गरेका छन्। भारतले नखेले पाकिस्तानले २ अंक प्राप्त गर्ने बताउँदै गावस्करले विश्वकपमा भाग लिएका अन्य देशको धारणा बुझ्नु पर्ने बताए। उनले अन्य देशले भारत र पाकिस्तानबीचको मामिलामा आफूहरुलाई नमुछ्न आग्रह गर्न सक्ने समेत तर्क गरे। पूर्वक्रिकेटर हरवजन सिंह लगायतले भने भारतले पाकिस्तान विरुद्धको खेल बहिस्कार गर्नु पर्ने बताउँदै आएका छन्।
पाकिस्तानका कप्तान सर्फराज अहमेदले भारत र पाकिस्तानबीचको खेल यसअघि तय खेल तालिकाअनुसार खेल्नु पर्ने बताएका छन्। उनले करोडौंले दुई देशबीचको खेल हेर्न चाहेको बताउँदै क्रिकेटलाई राजनीतिक स्वार्थमा प्रयोग गर्न नहुने बताएका छन्।
भारत र पाकिस्तानबीच हुने द्वन्द्वको असर क्रिकेटमा परेको यो पहिलो पटक होइन। यसअघि २००८ को मुम्बइ हमलापछि भारत र पाकिस्तानबीच त भएको सिरिज खेलिएको थिएन।
सन् १९७८ मा १८ वर्षपछि भारत र पाकिस्तानबीच क्रिकेट खेल भएको थियो।
दुई देशको द्वन्द्वकै कारण इण्डियन प्रिमियर लिग (आइपिएल) मा पाकिस्तानी खेलाडीलाई खेल्न अनुमति छैन।
दुई देशबीचको तनाव खेलकुदमा मिसिनुलाई बिनागोलीको द्वन्द्वको रुपमा लिइएको छ। यस्तै कतिपयले यसलाई राष्ट्रभक्ति र अन्धराष्ट्रभक्तिबीचको द्वन्द्व पनि भन्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।