काठमाडौं– पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० क्रिकेट प्रतियोगितामा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले डेब्यू खेलमा ३ विकेट लिएका छन्। शुक्रबार लाहोर क्वालान्डर्सबाट पिएसएल डेब्यू गर्दै सन्दीपले मुल्लान सुल्तान्सविरुद्ध ३ विकेट लिएका हुन्।
टस जितेको लाहोरले पहिले बलिङ गर्ने निर्णय गरेको थियो। जसमा सन्दीपले पहिलो २ विकेट लिँदै लाहोरलाई रहात दिलाएक थिए। सन्दीपले पहिलो विकेटस्वरुप ओपनिङ ब्याट्सम्यान जेम्स भिन्सलाई ८४ रनमा आउट गरे। सन्दीपले भिन्सलाई फखर जमानको हातबाट क्याचआउट गराएसँगै सुल्तान्सको १ सय ३५ रनको ओपनिङ साझेदारी तोडिएको थियो। आफ्नो तेस्रो ओभरमा सन्दीपले सुल्तान्सका कप्तान सोएब मलिकलाई १० रनमा आउट गरे। यस्तै सन्दीपले आफ्नो तेस्रो विकेटको रुपमा आन्द्रे रसेललाई सिकार बनाए।
सन्दीपले खेलमा ४ ओभरमा ४६ रन खर्चिए। जसमा उनले १ चौका र ५ छक्का दिएका थिए।खेलमा सुल्तान्सले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय रन जोड्यो। योसँगै सन्दीपले एक वर्षको अन्तरमा नवौं विदेशी फ्रेन्चाइज लिग खेले।
सन्दीप आबद्ध भएका विदेशी फेन्चाइज लिग
आइपिएल (भारत), ग्लोबल टी–२० (क्यानडा), सिपिएल (वेस्ट इन्डिज), एपिएल (अफगानिस्तान), टी-१० (यूएई), बिबिएल (अस्ट्रेलिया), बिपिएल (बंगलादेश), हङकङ टी–२० ब्लिज, पिएसएल (पाकिस्तान)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।