काठमाडौं- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको विषयलाई लिएर संसद्मा ‘आरोप-प्रत्यारोप’ भएको छ।
त्रिभुवन विश्वविद्यालयले गराउने स्ववियु चुनाव फागुन १४ गतेका लागि तोकिए पनि उक्त समयमा निर्वाचन हुन नसक्ने अवस्था आएपछि सत्तापक्ष र प्रतिपक्षी संसद्मै आरोप-प्रत्यारोपमा उत्रिएका हुन्।
शुक्रबार संसद्को ‘शून्य समय’मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद पदम गिरीले स्ववियु चुनाव हुन नसकेको विषयलाई उठाए। चुनावमा आफूले जित्ने अवस्था नआएपछि कांग्रेसले वातावरणको निहुँ देखाएर चुनावबाट भाग्न खोजेको भन्दै उनले लोकतन्त्रतमा हारिने भए पनि चुनावमा जानैपर्ने बताए।
‘प्रतिपक्षी दलका नेताले आफ्नो भ्रातृ संगठनले विजय नदेखकै कारण निर्वाचनलाई भाँड्न उहाँहरुले निर्वाचनको वातावरण छैन भनिरहनुभएको छ,’ गिरीले भने, ‘लोकतन्त्रमा निर्वाचन जित्नकै लागि हुने हो कि हार्दा पनि निर्वाचनमा जानका निम्ति तयार हुने हो?’
तर, गिरीको आरोपलाई कांग्रेस सांसद पुष्पा भुसालले प्रतिवाद गरिन्। आफू हार्ने अवस्थामा पनि कांग्रेसले चुनाव गराएको स्मरण गराउँदै उनले कांग्रेसले चुनाव नचाहेको भन्ने आरोप आफै खण्डित हुने दाबी गरिन्।
‘नेपाली कांग्रेस जसले मुलुकको संविधान कार्यन्वयनका लागि तीन तहको निर्वाचन गराउन पछाडि हटेन,’ भुसालले भनिन्, ‘कांग्रेस हारे पनि जनता जित्नुपर्छ भनेर निर्वाचनको प्रक्रियालाई सधै स्वीकार गर्यौं।’
के भनेका थिए गिरीले?
विद्यार्थीहरुको बलिदानीबाट प्राप्त भएको स्वतन्त्र विद्यार्थी युनियन अहिले मृतप्रायः अवस्थामा छ। विगत १० वर्षदेखि त्रिभुवन विश्वविद्यालयका ठूला आंगिक क्याम्पसमा निर्वाचन हुन सकेको अवस्था छैन। एकातर्फ हामी नयाँ पुस्ता राजनीतिमा आकर्षित छैन भनिरहेका छौं, अर्कोतर्फ विद्यार्थी नेता, कार्यकर्ता जन्माउने ‘फ्याक्ट्री’ हामी बन्द गर्दैछौं।
म सुन्दै छु प्रतिपक्षी दलका नेताले आफ्नो आफ्नो भ्रातृ संगठनले आफ्नो विजय नदेखकै कारण निर्वाचनलाई भाँड्नका निम्ति उहाँहरुले निर्वाचनको वातावरण छैन भनिरहनुभएको छ भन्ने कुरा सञ्चारमाध्याममा आएको छ। वास्तविकता के हो? लोकतन्त्रमा निर्वाचन जित्नकै लागि हुने हो कि हार्दा पनि निर्वाचनमा जानका निम्ति तयार हुने हो? आज यो गम्भीर प्रश्न उठेको छ। युवा विद्यार्थीको भावनालाई बुझेर निर्धारित समयमा स्ववियु निर्वाचन होस्।
संसद्मा भुसालले यस्तो भनेकी थिइन्
नेपाली कांग्रेस जसले मुलुकको संविधान कार्यान्वयन गर्न तीन तहको निर्वाचन गराउन पछाडि हटेन। कांग्रेस हारे पनि जनता जित्नुपर्छ भनेर निर्वाचनको प्रक्रियालाई सधै स्वीकार गर्यो। तर, भर्खरै त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीको निर्वाचन हुने कुरामा प्रमुख प्रतिपक्षी दलको नेताले यसलाई अस्वीकार गरेको भन्ने कुरा त्यहीँबाट खण्डन हुन्छ। त्रिविको कुलपति स्वयं प्रधानमन्त्री हुनुहुन्छ। उहाँको नेतृत्वमा, उहाँको पहलमा यो त्रिभुवन विश्वविद्यालयको निर्वाचन उहाँले कसको कारण, किन गराउनुभएन? निर्वाचन प्रक्रिया अगाडि नबढाईकन बाहिर प्रमुख प्रतिपक्षी दलले स्वीकार गरेन भन्ने भ्रम छरेर निर्वाचन रोक्ने काम भइरहेको छ। त्यसको जानकारी हामी यो सदनमा चाहन्छौं।
अझै तोकिएन निर्वाचन मिति
तोकिएको मिति फागुन १४ मा निर्वाचन नहुने निश्चिन प्रायः भए पनि स्ववियुको अर्को मिति भने अझै तोकिएको छैन।
निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालयले निर्वाचन समिति गठन गरे पनि यसले अहिलेसम्म औपचारिक छलफल थालेको छैन। ६ फागुनमा बसेको त्रिवि पदाधिकारी बैठकले शिक्षाध्यक्ष सुधा त्रिपाठीको संयोजकत्वमा १६ सदस्यीय केन्द्रीय निर्वाचन समन्वय एवं निरीक्षण समिति बनाएको थियो।
विद्यार्थी संगठनहरुसँग छलफल गरेर चुनावको नयाँ मिति तोक्ने र निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने जिम्मा समितिलाई दिइएको थियो।
सत्तारुढ नेकपा निकट एक विद्यार्थी संगठन अनेरास्ववियुका प्रवक्ता आरसी लामिछाने त्रिविले अहिलेसम्म आफूसँग चुनावको विषयलाई लिएर कुनै औपचारिक छलफल नगरेको बताउँछन्। ‘स्ववियु चुनावको मितिबारे त्रिविले अहिलेसम्म हामीसँग कुनै औपचारिक बैठक गरेको छैन,’ लामिछानेले नेपाल लाइभसँग भने।
त्रिविको क्यालेन्डरअनुसार फागुन १४ गतेभित्र स्ववियु निर्वाचन गर्नुपर्ने व्यवस्था छ। चुनाव हुनुभन्दा एक महिनाअघि नै निर्वाचन तालिका घोषणा गर्नुपर्ने हुन्छ।
त्रिविले भने परीक्षाका कारण तालिका ‘प्याक’ रहेको भन्दै स्ववियु निर्वाचन फागुन १४ को एक हप्ताभन्दा उता सार्न नसकिने बताइरहेको छ। फागुन महिनाभित्रै निर्वाचन नगराए विद्यार्थीको परीक्षाको कार्यतालिका प्रभावित हुने भन्दै त्रिविले त्यसो गर्न नसकिने बताउने गरेको छ।
प्रवक्ता लामिछानेले भने चैत पहिलो साता चुनाव गराउने गरी त्रिविसँग आफूहरु अनौपचारिक छलफलमा रहेको बताए।
उनले एक हप्ता पछि सार्दा चुनावमा त्यति धेरै प्रभाव नपर्ने बताए। ‘परीक्षाको कार्यतालिकालाई एक हप्ता पछि सार्न सकिन्छ,’ उनको भनाइ छ, ‘त्यसले त्यस्तो धेरै प्रभाव पर्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।