काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा खानेपानीमन्त्री बिना मगरलाई सांसदहरुले प्रश्न सोधेका छन्। दसैंमा पूरा हुने घोषणा गरेको खानेपानी आयोजनाको अन्योल र कमिसनको कारण सुरुङ खन्ने ठेकेदार भागेको विषयमा समेत सांसदले प्रश्न उठाएका छन्।
सांसदहरुको प्रश्नमा जवाफ दिँदै मगरले मेलम्चीमाथि कसैको गिद्धे नगर आफूलाई सह्य नहुने बताइन्। अब मेलम्ची निर्माणका लागि सिएमसीलाई पुन: ल्याउने विषयमा छलफल गर्ने र ऊ नआएमा पुन: टेन्डर हुने बताइन्। संसदको नियमावली अनुसार भएको प्रश्नोत्तर कार्यक्रममा कांग्रेस सांसदहरु डिला संग्रौला, गगनकुमार थापा, राजन केसी, नेकपाका महेश बस्नेत र प्रेम सुवालले प्रश्न सोधेका थिए।
यस्तो छ प्रश्नोत्तर
डिला संग्रौला : मेलम्चीको खानेपानी कहिले खान पाउने? मन्त्रीले दिएको सीमा कटेको कट्यै छ?
मन्त्री मगर : यो गम्भीर आयोजना हो। मेलम्चीबाट आएको पानीले प्यास मेटाउने चिन्ता स्वाभाविक छ। हामीले केही समयावधि तोकेका थियौं। मेलम्ची आयोजनामा देखिएको समस्या खासगरी सिएमसीले छोडेको कारण केही प्रश्न उठेको हो। कहिले सम्पन्न हुन्छ भन्ने कुरामा हामी हल खोज्ने प्रयासमा छौं। छिटै यसको समाधान खोज्छौं। मन्त्रालयले दुई प्रकारको होमवर्क गरिरहेका छौं। सिएमसी आएमा छिटो सम्पन्न हुने अवस्था भएकाले ऊसँग छलफल अगाडि बढाइएको छ। दोस्रो, त्यसो हुन नसकेमा पुन: टेन्डरको पद्धतिबाट मेलम्चीको पानी काठमाडौं ल्याउने प्रयास थालेका छौं।
संग्रौला : मेलम्ची ठेक्का लिएको कम्पनी किन फर्कियो? मन्त्री र सचिवबीच के मिलेन, कमिसन वा भ्रष्टाचार हो? मन्त्री सिएमसीलाई दिनुपर्ने तर सचिव ठाकुर देश डुबाउन लागेको भनिन्छ नि?
राजेन्द्रकुमार केसी ः गत बैसाखमा पानी आउने भाषण सुनेको थिएँ। मन्त्रीले ठेकेदार भगाएको आरोप सचिवको छ। सत्यतथ्य के हो?
महेश बस्नेत ः मेलम्ची आयोजना विस्तार गरेको ठाउँमा बाटो अस्तव्यस्त छ। यसको समाधान कहिले हुन्छ? नेपाली ठेकेदारले भुक्तानी नपाएको कुरा के हो? मेलम्चीमा समस्या भएको समयमा विकल्प हुने भनिएको थियो त्यसको खोजीमा के भइरहेको छ?
गगनकुमार थापा : 'थप ३ अर्ब दिएर सिएमसी ल्याउन लागिएकाले मैले कानुनविपरीत गर्न सकिनँ, त्यसैले मन्त्रीले देश डुबाउन लागिन्' भनेर तपाईंसँग काम गरेका सचिव गजेन्द्र ठाकुरले आरोप किन लगाउनुभयो? ३६ करोड कमिसन मागेको कुरा के हो? छापामा आएको कुरा सत्य हो कि हैन? हैन भने किन तपाईंले बोल्नुभएन? मेलम्चीको खानेपानी योजनामा भ्रष्टाचार भयो भन्ने मन्त्री र सचिवबीच आरोप प्रत्यारोप भइरहेको छ। दोषी को हो, हामीले जान्न पाउनुपर्छ, दोषीलाई कारबाही हुनुपर्छ।
प्रेम सुवास ः दसैंअघि आउँछ भनी चार आर्थिक वर्षदेखि हरेक आर्थिक वर्षमा भन्दै आइएको छ। काठमाडौं वरपरका क्षेत्रलाई जलाधार क्षेत्र बनाउँदा समाधान हुने भनिन्छ तर यसमा सरकारको सोच के हो?
बहादुर लामा : सिएमसी आउने कुरा भयो? ९५ प्रतिशत सक्केको भनिएको तर रकम किन धेरै भुक्तानी भयो?
मन्त्री मगरको जवाफ :
मैले नेतृत्व गरेपछि मेलम्चीले धेरै फड्को मारेको छ। अन्तिम निष्कर्ष दिन नसक्नु सिएमसीमको कारण भएको हो। मेरो कार्यकालमा धेरै रफ्तारमा काम भएकै हो। सुरुङ ब्रेक थ्रु र टनेलको काम अन्तिम भएको थियो। अन्तिम अवस्थामा पुगेर पानी खुवाउने तयारीमा हामी थियौं। यसमा हाम्रो मेहनत थियो।
तर दुर्भाग्य सिएमसी छोडेर जाने अवस्था सिर्जना भयो। त्यसको भोलिपल्टैदेखि हामीले यसको समाधान गर्न केही मेहनत गरेका छौं। भेन्डर र सिएमसी किन भाग्यो र कसले भगायो भन्ने उठाउनुभएको कुरा स्वाभाविक छ। छिटोभन्दा छिटो सिएमसीबाटै गर्ने प्रयास हामीले गरिरहेका छौं। ऊ नआउने हो भने पुन: टेन्डर गरी काम तीव्र गर्ने होमवर्क गरिरहेका छौं। यसमा दुईवटै विकल्प हो। सिएमसीलाई ल्याउने नत्र पुन: टेन्डर गर्ने हो। ऊ आएमा नेपाली भेन्डरहरुको समस्या समाधान हुन्छ।
विधिससमम्त रुपमा ठेक्काको मापदण्डभित्र ऊ आउँछ भने हामी तयारीमा छौं। ऊ नआएमा पुन: टेन्डर हुनेछ। पूर्वसचिवले के प्रश्न उठाउनु भयो, भएन मेरो केही छैन। मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो। यो उपत्यका र मेरो व्यक्तिगत रुपमा मेरो सफलतासँग जोडिएको हो। तसर्थ कुनै पनि गिद्धेनजर पर्न दिनेछैन।
मन्त्रीले राष्ट्र डुबाउन खोजेको कुरा मलाई हिसाब गर्न आउँदैन। मलाई सिएमसी र मेलम्ची खानेपानी काठमाडौंमा आउने फर्मुला अनुसार काम गर्न मात्र भनेको थिएँ। सचिव अरु मन्त्रालयको पनि सरुवा गरिएको थियो।
मिडियाले मलाई एक अर्ब खायो भनेर प्रचार गरेकै हो। म आएपछि मेलम्चीमा जम्मा ८४ करोड भुक्तानी गरिएको छ। तर मिडियाले एक खर्ब खाएको आरोप लगाएका छन्। मन्त्रालयले संयमित रुपमा काम गरिरहेको छ। मेलम्चीको विकल्पको रुपमा हामीले छलफल गरिरहेका छौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।