धनगढी– काठमाडौं गोल्डेन्सले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको दोस्रो क्वालिफायर्स खेल बहिष्कार गरेको छ।
खेलाडी कारबाही गरेको भन्दै खेल बहिष्कार गरिएको हो। भारतीय बलर अंकित दबासलाई बलिङमा प्रतिबन्ध लगाएको भन्दै काठमाडौंले महेन्द्रनगर युनाइटेड विरुद्धको क्वालिफायर्स खेल बहिष्कार गरेको हो।
काठमाडौंले फाप्ला क्रिकेट मैदानमा आज महेन्द्रनगर युनाइटेडसँग प्रतिस्पर्धा गर्ने तालिका थियो। दबासको बलिङ शंकास्पद रहेको पाइएपछि आयोजक डिपिएलले बिहीबार उनलाई प्रतिबन्ध लगाएको थियो।
आयोजकका अनुसार काठमाडौं गोल्डेन्सले खेलेको २ फरक खेलमा दबासको बलिङ एक्सन अनाधिकृत रहेको पाइएको थियो।
टिम व्यवस्थापक संजय श्रेष्ठले भारतमा विभिन्न खेल खेलेकाे खेलाडीलाइ बिनाकारण कारबाही गरेकाेले खेल नखेलेकाे बताए।
उनले आइसिसीको नियमहरूको पालना आयोजकले नगरेको र मैदानको अवस्था खराब रहेकाले टिमले नखेल्ने निर्णय गरेको बताए।
उनले भने, 'सुरुदेखि नै आयोजकले आइसिसीको नियम पालना गरेका छैनन्। मैदानको अवस्था पनि राम्रो छैन।'
काठमाडौं गोल्डेन्सले खेलेका २ खेलमा दबासको बलिङ मैदानमा रहेका अम्पायरहरूले शंकास्पद पाएको आयोजकले जनाएको छ।
काठमाडौंले यसमा असन्तुष्टि जनाउँदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।