काठमाडाैं- सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राज नारायण पाठकलाई कारबाही हुन नसकेको, संघअन्तर्गत निर्माण हुँदै आएका सडक निर्माणको कामको जिम्मेवारी प्रदेशलाई दिए पनि ती सडक निर्माणको काम हुन नसकेको लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसद प्रदीप यादवले नेपाल एयरलाइन्सको इन्जिन मर्मत र पाटपूर्जाको टेण्डरमा १ अर्ब ५३ करोड रुपैयाँको घोटाला भएको सार्वजनिक हुँदा पनि त्यसतर्फ सम्बन्धित मन्त्रालयको ध्यान नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले भने, 'नागरिक उड्डयनमन्त्री भाङ खाएर सुत्नुभएको छ कि शुभलाभ पाएर सुत्नुभएको छ। कि उहाँको ध्यान त्यसमा पुगिरहेको छैन।'
सांसद डिला संग्रौला पन्तले अख्तियारका आयुक्त पाठकले सार्वजनिक रुपमा घुस लिएको भिडियो ४ महिनाअघि प्रधानमन्त्री कार्यालयमा पुगेको भन्दै अहिलेसम्म किन कारबाही भएन भनी प्रश्न गरिन्।
सांसद दिव्यमणि राजभण्डारीले पूर्व गोर्खा सैनिकहरुको समस्याका बारेमा छलफल गर्न वार्ता टोली गठन गरी बेलायत सरकारसँग छलफल गर्न माग गरे। सांसद बालकृष्ण खाँडले पूर्व गोर्खा सैनिकहरुको समस्याप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए।
सांसद दुर्गा पौडेलले गुठी संस्थानअन्तर्गत भोगचलन गर्दै आएको जग्गालाई धितोको रुपमा लिन सक्नेगरी व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन्।
सांसद देवप्रसाद गुरुङले तनहुँ, लमजुङ र मनाङका निर्माणाधीन सडक निर्माण कार्य अवरुद्ध भएको भन्दै तत्काल सुचारु गराउन माग गरे।
धर्मशिला चापागाईँले सबै सांसदलाई समान व्यवहार गर्दै सबै सांसदले खर्च गर्नेगरी बजेटको व्यवस्था गर्न माग गरे।
ध्रुब कुमार शाहीले सुर्खेत जिल्लामा वर्षौदेखि भोगचलन गरिरहेकाहरुले जग्गा धनी पुर्जा नपाएको भन्दै सोको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। नर बहादुर धामीले कञ्चनपुर जिल्लाका ७५ प्रतिशत जनताले जग्गाधनी पूर्जा नपाएको भन्दै तत्काल पूर्जा दिने व्यवस्था मिलाउन माग गरे।
पदम गिरीले निर्धारित समयमै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न माग गरे। पुष्पा भुसाल गौतमले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा प्रमुख प्रतिपक्षी दलले स्वीकार गरेन भनेर भ्रम सृजना गरी निर्वाचन रोक्ने काम भइरहेको भन्दै निर्वाचन हुन नसक्नुको कारणबारे सदनलाई जानकारी गराउन माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।