काठमाडौं- केही दिनअगाडि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सरुवा भएका सचिव कृष्णप्रसाद देवकोटाले सरकारले तोकेको जिम्मेवारी बहन गर्ने बताएका छन्।
‘म एक राष्ट्र सेवक कर्मचारी हुँ,' सचिव देवकोटाले भने, ‘सरकारले आवश्यकता अनुसार जुन जिम्मेवारी दिन्छ, सोही अनुसार काम गर्छु।’
सचिव देवकोटालाई पर्यटन मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको थियो। पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफ्नो क्षमता र दक्षताले सकेको काम गरेको र अब खेलकुद मन्त्रालयका पनि सोही अनुरुप काम गर्ने देवकोटाको भनाइ छ।
लुम्बिनी विकास कोषका लागि भनेर चिनियाँ बिवाइडी कम्पनीसँग खरिद गरिएको बस फिर्ता लैजान भन्दै पत्र काटेपछि सचिव देवकोटाको सरुवा गरिएको सूचना बाहिर आइरहेको बेला उनको यस्तो अभिव्यक्ति आएको हो।
'पर्यटन मन्त्रालयमा बसेर राम्रो काम गरेको भन्दै मलाई साग जस्तो महत्वपूर्ण गेम पनि सफलताका साथ सम्पन्न गराउने गरी जिम्मेवारी दिएर सरकारले सरुवा गरेको हो,' उनले भने। सरकारको लक्ष्य अनुरुप साग जस्तो महत्वपूर्ण खेल सम्पन्न गर्ने गरी दिशानिर्देश गर्ने सकेको अवस्थामा त्यसलाई ठूलो सफलता ठान्ने देवकोटाको भनाइ छ।
आइतबारदेखि खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।