जनकपुर- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय अध्यक्ष मण्डलको बैठक आजदेखि जनकपुरमा सुरु भएको छ। केन्द्रीय समितिले आयोजना गरेको बैठक तीन दिनसम्म चल्ने अध्यक्ष मण्डल सदस्य राजकिशोर यादवले बताए।
राजपाका केन्द्रीय अध्यक्ष मण्डल तथा प्रदेश २ का मन्त्री एवं समन्वय समिति सदस्य सहभागी बैठकमा प्रदेश सरकारको समीक्षा हुनेछ।
'अध्यक्ष मण्डल र प्रदेश २ सरकारको अवस्था, पार्टीको नीति र अनुभवको समीक्षा गर्नेछौं,' यादवले भने, 'प्रदेश सरकारको गठबन्धन, सरकारको कामकारबाही, पार्टीबाट सरकारमा सहभागी मन्त्रीको अनुभव र समस्याबारे पनि छलफल सुरु भएको छ।'
मन्त्रीहरुसँग छलफलपछि राजपा अध्यक्ष मण्डलका सदस्यहहरुले प्रदेश २ का सांसदहरुसँग छलफल गर्नेछन्।
बैठकमा राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादव, सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव सहभागी छन्। शरतसिंह भण्डारी भने अनुपस्थित छन्।
बैठकमा प्रदेश २ का भौतिक विकास मन्त्री जितेन्द्र सोनल, सामाजिक विकासमन्त्री नवलकिशोर साह, उद्योग, पर्यटन, वन तथा वतावरणमन्त्री रामनरेश राय, राज्यमन्त्रीहरु सुरेश मण्डल, अभिराम शर्मा र डिम्पल झा सहभागी छन्।
प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाको गठबधन सरकार छ। राजपाले ३ मन्त्रलाय पाएको छ। प्रदेश २ मा राजपाका २५ सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।