धनगढी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षको बजेटमा ज्येष्ठ नागरिक भत्ता वृद्धि गरिने घाेषणा गरेका छन्।
सुदुरपश्चिम प्रदेशस्तरीय कार्यकर्ताको बिशेष भेलालाई बुधबार धनगढीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको ढिकुटी रित्तिएकोले यस वर्षकाे बजेटमार्फत ज्येष्ठ नागरिक भत्ता वृद्धि गर्न नसकेको तर आगामी वर्षकाे बजेटमा भने भत्ता वृद्धि गरिने घाेषणा गरेका हुन्।
प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा एकताबद्ध रुपमा अघि बढेको बताए।
उनले स्थानीय स्तरका कमिटी र जनवर्गीय संगठनको एकीकरणमा केही ढिलाइ भएको भए पनि त्यो अवस्था अब नलम्बिने स्पष्ट पारे। 'पार्टी एकिकरणमा केही ढिलाइ भयो, तर अब त्यो अवस्था रहँदैन। अब सबै कमिटीहरुको एकता छिट्टै टुंगिदैछ', प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा नेकपालाई दुई तिहाई मत ल्याउन कसैले रोक्न नसक्ने दाबी गरे। 'वर्तमान सरकार काम र पार्टी एकतापछि निर्माण हुने मजबुत संगठनले जनताको मन जितेर आगामी निर्वाचनमा पार्टीलाई दुई तिहाई मत दिने अवस्था आउँछ', प्रधानमन्त्री ओलीकाे भनाइ थियाे।

कतिपयले एउटै जंगलमा दुई वटा शेर बस्न सक्दैनन् भने पनि नेकपामा दुई वटा शेर मिलेर बसेको प्रधानमन्त्री ओलीको भनाइ छ।
'धेरैले भन्छन् एटै जंगलमा दुई वटा शेर बस्न सक्दैनन्, तर हामीले देखाइदियाैं एउटै जंगलमा दुई वटा शेर पनि मिलेर बस्न सक्छन्', प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओलीले भने, 'नेकपा एकजना प्रधानमन्त्री र तीन जना पूर्व प्रधानमन्त्री भएको पार्टी हो र अरु धेरै क्षमतावान नेता भएको पार्टी हो। यसले नै देशलाई सही दिशामा अघि बढाउँदछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।