काठमाडौं– निर्वाचन क्षेत्रमा रकम बाँड्न आफ्नो सहमति आवश्यक नपर्ने भएपछि समानुपातिक तर्फबाट निर्वाचित केही सांसदहरुले बुधबारको प्रतिनिधिसभा बैठकमा आक्रोश जनाएका छन्।
नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद उमा रेग्मीले 'स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संचालन कार्यविधि) नियमावली , २०७५' नै च्यातिन्। 'यो नियमावली वास्तवमा हामी सबै समानुपातिक सांसदहरुको तर्फबाट च्यात्न चाहन्छु', नियमावली च्यात्दैगर्दा उनले भनेकी थिइन्।
संसदको विशेष समयमा बोल्दै प्राय सांसदहरुले सामानुपातिक सांसदहरुलाई फरक व्यवहार गरेको बताएका थिए।
सांसद लक्ष्मी परियारले समानुपातिक सांसद बंशज नागरिक जस्तो भएको बताइन्।
‘अंगिकृत सांसदको व्यवहार भयो’, परियारले भनिन्, ‘सरकारले स्थानीय पूर्वाधार कार्यक्रममा दुई तहका सांसद हौँ भन्ने देखायो। दुई खालका हौँ भने संसदमा पनि दुइ ठाउँमा बस्ने व्यवस्था गरियोस्।’
सांसद लक्ष्मी परियारले प्रत्यक्ष निर्वाचित सांसद वंशज र समानुपातिक सांसदलाई अंगिकृतको व्यवहार भएको टिप्पणी गरिन्।
अर्का सांसद रामबहादुर बिस्टले समानुपातिक सांसदलाई सी श्रेणीको सांसद भएको भन्दै व्यंग्य गरे। ‘राणा कालमा ए क्लासका, बी क्लासका र सी क्लासका राणा थिए रे। सांसदको बीचमा वर्गिकरण गरिएको भएको छ। सत्तापक्षको प्रत्यक्ष सांसद ए क्लासका, प्रतिपक्षका प्रत्यक्ष निर्वाचित सांसद बी क्लासका र समानुपातिक सी क्लासका’, उनले भने।
बजेट मार्फत् सरकारले स्थानीय पूर्वाधार विकास कार्यक्रमका लागि भन्दै प्रत्येक निर्वाचन क्षेत्रमा चार करोड बजेट दिएको थियो। उक्त बजेट खर्च गर्ने अधिकार प्रत्यक्ष निर्वाचित सांसदलाई दिएको थियो। नियमावलीले निर्वाचन क्षेत्रमा जाने ४ करोड रुपैयाँ विनियोजनमा समानुपातिक सांसदलाई भूमिका नदिएपछि समानुपातिक सांसद आक्रोशित भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।