काठमाडौं– सुदूरपश्चिम प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि बैठक स्थगित भएको छ।
‘सभामुख अर्जुनबहादुर थापाले प्रधानमन्त्रीको सम्बोधनलगत्तै १५ मिनेटपछि बैठक प्रारम्भ गरिने घोषणा गरे। त्यसपछि सामूहिक फोटो खिच्ने काम भयो। तर, पछि बैठक भने बस्न सकेन,’ प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माले भने, ‘सभामा विपक्षी दलका कुनै पनि सदस्यको उपस्थिति नभएकाे हुनाले स्थगित गरिएको हो।’
नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता रणबहादुर रावलले सभामा प्रधानमन्त्रीलाई धन्यवाद दिने प्रस्ताव सभामुखले अघि सारेपछि बैठकमा नबसेको प्रतिक्रिया दिए।
‘हामीले प्रधानमन्त्रीलाई सभामा स्वागत गरेका थियौँ। तर, यसरी सभामुखले धन्यवादको प्रस्ताव ल्याउनु हुँदैन थियो,’ नेता रावलले भने।
प्रदेश सभाको अर्को बैठक १३ गते बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।
प्रतिपक्ष दलले भने : सम्बोधन निराशाजनक
सुदूरपश्चिम प्रदेशका प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन निराशाजनक रहेको प्रतिक्रिया दिएका छन्।
‘प्रधानमन्त्रीजस्तो व्यक्तिले संसदमा सम्बोधन गर्नु महत्वपूर्ण कुरो हो। तर, उहाँको सम्बोधनमा वार्षिक रुपमा रेड बुकमा छुट्याइएको योजनाका बारेमा जानकारी गराउने काम भयो,’ कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य भरत खडकाले भने, ‘यो प्रदेशको पर्यटकीय स्थल, कृषि क्षेत्र, राष्ट्रिय गौरवको ठोस योजनाबारे जानकारी दिनुपर्थ्यो। तर, निरन्तर छुट्याएको बजेटका बारेमा बाहेक अन्य केही छैन।’
उनले प्रधानमन्त्रीको बोलीमा पनि कुनै दम्भ नदेखेको बताए। ‘हामीले यस क्षेत्रको विकासका लागि १२ बुँदासहितको पूर्वाधार विकासका योजना बुझाएका थियौँ,’ उनले भने, ‘पश्चिम सेती परियोजनाबारे त प्रधानमन्त्री आफैं अलमलमा देखिए।'
प्रधानमन्त्रीले 'बनाउनुपर्ने हो तर म प्राविधिक होइन’ जस्ता कुरा गर्नु उनी कृषि आधुनिकिकरण परियोजनाबारे पनि स्पष्ट योजना व्याख्या गर्न नसकेको आरोप खड्काको थियो।
कांग्रेसकी प्रदेश सभा सदस्य नन्दा कुमारी बमले विगतका सरकारले गरेको कामलाई प्रधानमन्त्रीले आफूले गरेको भन्नु आपत्तिजनक रहेको बताइन्। ‘हामीले प्रधानमन्त्रीबाट यस प्रदेशका लागि विकास, शान्ति सुरक्षा लगायतमा नयाँ कुरा केही पनि पाएनौँ,’ उनले भनिन्, ‘विगतमा भएका योजना तथा काम 'मैले नै गरेको हुँ' भन्ने कुरामा आपत्ति छ। नगरेको काममा जस लिनु भो। खास यो कुरालाई सम्बोधन गर्नु पर्दैनथ्यो।’
उनले प्रधानमन्त्रीले दोभाषे कुरा गरेको पनि बताइन्।
‘प्रधानमन्त्रीले चुरे क्षेत्रको संरक्षण पनि गर्नुपर्छ भने सँगसँगै राजधानी गोदावरी उपयुक्त ठाउँ भन्नु भयो,’ उनले भनिन्, ‘चुरे क्षेत्रलाई संरक्षण पनि गर्ने र राजधानी पनि उपयुक्त भन्ने दोहोरो भूमिका जस्तो देखियो।’
राष्ट्रिय जनता पार्टीकी प्रदेश सभा सदस्य मालामती रानाले पनि सम्बोधनमा कुनै नौलो कुरा नआएको बताइन्। ‘पुराना पास भएका योजनालाई प्रस्तुत गर्नुभएको छ। जुन आश्वासन दिनुभएको छ त्यो कार्यान्वयन भए राम्रो होला,’ उनले भनिन्, ‘तराई क्षेत्रमा बसेका थारुहरूको नामै लगेनन् अब विकासको कुरा त परै छोडौँ।’
उनले प्रधानमन्त्रीले 'विगतका योजनालाई निरन्तरता दिएको छु' भनेको भए राम्रो हुने सुझाव दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।