धनगढी- प्रधानमन्त्री ओलीले कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकार गम्भीर रहेको बताए।
‘बालिकालाई बलात्कारपछि हत्या हुनु र अपराधी पत्ता लाग्न नसक्नु लज्जास्पद हो’, प्रधानमन्त्री ओलीले भने, ‘यो घटनालाई सरकारले गम्भीर रुपले लिएको छ। सुरक्षा निकायहरुले गम्भीर रुपमा यसको अनुसन्धान गरिरहेका छन्। हामीले दोषी पत्ता लगाएरै छोड्छौं।’ उनले अनुमानका आधारमा कसैलाई दोषी नभन्न पनि आग्रह गरे।
सुदूरपश्चिम प्रदेशसभालाई आज सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले घुमाउरो शब्दमा भने, ‘कुनै-कुनै घटनामा यसरी प्रमाण नष्ट गरिएका हुन्छन् कि अपराधीलाई पत्ता लगाउन सकिँदैन। तर, त्यसमा प्रमाण नष्ट भयो भन्दैमा दोषी पत्ता नलाग्ने भन्ने हुँदैन।'
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालका कारण युवाहरु गलत क्रियाकलापमा लागिरहेको औंल्याए।
सुदूरपश्चिमका सांसदलाई प्रधानमन्त्रीकाे आग्रह - मेरा कुरा अध्ययन गर्नुस्, हिसाब-किताब अर्को भेटमा
‘हामीले लोकतन्त्रको कुरा त गर्याैं र त्यो ल्यायौं पनि। तर, त्यसले ल्याएका विकृतिलाई ध्यान दिएनौं', प्रधानमन्त्री ओलीले भने, ‘अहिले सामाजिक सञ्जाल,स्वतन्त्रता लगायतका कारण युवाहरु कुलत बाटोमा लागिरहेका छन्।’ उनले सरकारले स्वतन्त्रतालाई कुण्ठित नगर्ने तर, त्यसैका आधारमा कसैलाई कुनै पनि गलत काम गर्न छुट नदिने प्रष्ट पारे।
प्रधानमन्त्री ओलीले युवाहरुको गलत क्रियाकलापले नै देशमा बलात्कार, हत्याहिंसा बढिरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।