जनकपुर- सिरहामा पुन: जातीय छुवाछुतको नाममा एक दलित समुदायका आमाछोरी कुटिएका छन्।
कथित ठूला जातका बालकलाई छोएको निहुँमा दलित (डोम) समुदायका आमाछोरीलाई कुटपिट गरिएको घटना सार्वजनिक भएको छ। छिमेकी अयोधी सदाय, सकल सदाय र विरोधी महतोले लहान नगरपालिका–१८ का ललिता मरिक र उनकी छोरी अमिरकालाई घरमै गएर कुटपिट गरेको बताइएको छ।
जातीय छुवाछुत ऐनअनुसार प्रहरीले दोषीलाई कारबाही गर्नुपर्ने ठाउँमा उल्टै मिलापत्र गर्न दबाब दिएको बताइएको छ।
गत फागुन ३ को बिहान स्थानीय मुतनी खोलामा शौच गर्न गएका ललिताका ८ वर्षीय छोरा सुशीलले छिमेकी अशोक सदायलाई छोएको निहुँमा ललिता र अमिरका कुटिएका थिए। अशोक अयोधीका नाति हुन्।
साेही दिन नै इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएपनि प्रहरीले मिलापत्र गर्न दबाब दिएको ललिताका श्रीमान् दुखी मरिकले बताए। प्रहरीले दुई पटकसम्म छलफल आह्वान गरेको, तर पीडकको उपस्थितिविना नै मिलापत्र गर्न दबाब दिएको उनको गुनासो छ। दुबै छलफल असफल भएपछि घटना सार्वजनिक भएको हो।
कुटपिटबाट आमाछोरी ललिता र अमिरका घाइते भएका छन्। ललिताको टाउको, पिठ्युँ, ढाड र कम्मरमा चोट लागेको छ भने अमिरकाको देब्रे हातको दुई वटा औँला फुटेको छ। घाइते पत्नी र छोरीलाई लहानस्थित रामकुमार–उमाप्रसाद स्मारक अस्पतालमा उपचार गरेको दुःखीले बताए।
‘लहान ल्याएर उपचार गराएँ, ७ हजार ५ सय रुपैयाँ खर्च भयो’, उनले भने, ‘फेरि केही गर्लान् कि भन्ने त्रासमा छौँ।’ अमिरका बहिनीको विवाहका लागि उदयपुर करैयाबाट माइत आएकी थिइन्।
‘घरमा बसिरहेका आमाछोरीलाई उनीहरूले सानो जातको भएर ठूलो कुरा गर्ने भन्दै गालीगलौज, लछारपछार गर्दै कुटपिट गरेछन्,’ दुखीले भने, ‘म काम गर्न लहान आएको थिएँ। घटना थाहा पाएपछि घरमा पुग्दा कुट्नेहरु हिँडिसकेका रहेछन्।’
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक राजेश थापाले आफूकहाँ छुवाछुतको सम्बन्धमा उजुरी नपरेको बताए। कुटपिटको मात्र निवेदन दर्ता भएको उनको भनाइ छ।
‘त्यसकै आधारमा छलफल बोलाएको हो। जिउ छोएका कारण कुटपिट भएको हो भने निवेदन पनि त्यही रूपले आउनुपर्थ्याे,’ थापाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।