डडेल्धुरा– प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला हत्याकाण्डमा संलग्नलाई सरकारले कारबाही गरेरै छाड्ने बताएका छन्।
डडेल्धुराको अमरगढी नगरपालिका–१ दूधकाँडेमा निर्माण गरिएको स्याउले १३२/३३/११ केभी सव स्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले हत्याकाण्डमा संलग्नलाई उम्कन नदिने प्रतिवद्धता जनाए।
उनले सरकार विकास निमार्णमा तीव्रताका साथ लागेको दाबी समेत गरे।
उनले भने, ‘वर्तमान सरकारले कसैलाई अन्धकारमा राख्दैन, गाउँ गाउँमा सडक निमार्ण हुन्छ, कसैका नानी बाबु शिक्षाबाट वञ्चित हुँदैनन्। स्वास्थ्य उपचार नपाएर अब कसैले ज्यान गुमाउन पर्ने छैन।’
यस्तै प्रधानमन्त्री ओलीले ७ सय ५० मेगावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण कार्य आगडि बढाउने बताए।
पश्चिम सेती निर्माणका लागि चिनियाँ कम्पनी थ्री गर्जेजले ल्याएको सामानसमेत धमाधम लैजान थालेका बेला डडेल्धुरा पुगेका प्रधामन्त्री ओलीले वर्तमान सरकारले नै यसको काम सम्पन्न गराउने दाबी गरे।
उनले भने ‘पश्चिम सेती जलविद्युत आयोजना म प्रधानमन्त्री रहेका बेला बन्छ।’
उनले विद्युतीकरण हुन बाँकी रहेका सुदूरपश्चिमका दुरदराजका ठाउँमा पनि सव स्टेशनबाट विद्युत् बिस्तारमा टेवा पुग्ने दाबी गरे।
‘पश्चिम सेतीको निर्माण बाहेक अरु यहाँको सम्पूर्ण बिजुली यस सव स्टेशनले नियमित गर्न र नियमित ढंगले सप्लाइ गर्न सक्दछ।’
सुदूरपश्चिम विकासमा पछाडि परिरहनु पर्दैन
प्रधानमन्त्री ओलीले अब सुदूरपश्चिम विकासमा पछाडि परिरहनु नपर्ने बताए।
‘अब सुदूरपश्चिम पछाडि परिरहनुपर्ने, विकासमा पछाडि पर्नुपर्ने आवश्यकता छैन,’ उनले भने,‘हामीले यहाँ सव–स्टेशन बनाएका छौँ। जहाँ विद्युत् पुगेका छैन त्यहाँ विद्युत् पुर्याउँछौं।’
अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्यहरू राजीनामा दिएर भाग्नुपर्ने अवस्था आएको उल्लेख गर्दै कोही पनि कारबाहीबाट भाग्न नपाउने बताए। उनले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने बताए।
उनले बाँकी रहेका ठाउँका तुइन विस्थापित गर्न पनि सरकार लागिपरेको बताए। महाकाली नदीमा रहेका तुइन विस्तापित गर्नका लागि भारत उत्तराखण्डका प्रदेश प्रमुख र मुख्यमन्त्रीसँग सहकार्य गरेर अगाडि बढेको बताए।
उनले तुइन विस्थापित नहुने ठाउँमा केबुलकार बनाउने प्रतिबद्धता जनाए।
सव–स्टेशन सञ्चालनमा आएपछि विद्युत आपूर्ति सहज
डडेलधुराको स्याउलेमा निर्माण गरिएको १३२/३३ केभी सव–स्टेशन मंगलबारदेखि सञ्चालनमा आएको छ।
७ नम्बर प्रदेशका पहाडी जिल्लामा विद्युत आपूर्तिलाई नियमित र भरपर्दो बनाउन डडेलधुराको स्याउलेमा उक्त सव स्टेशन निर्माण गरिएको हो।
सव–स्टेशनलाई मंगलबारबाट चार्ज गरिएको छ। अब ७ नम्बर प्रदेशका पहाडी जिल्लामा आगामी दिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत त्यही सव–स्टेशनमार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गराउन पनि सोही पूर्वाधारको प्रयोग गरिनेछ।
सव–स्टेशन सञ्चालनमा आएपछि दार्चुलास्थित ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको विद्युत स्याउलेबाटै डडेल्धुरा, दार्जुला,डोटी, वैतडी र अछाममा वितरण हुनेछ।
नेपाल विद्युत प्राधिकरणले अहिले चमेलियाको विद्युत दार्चुलाको बलाँचबाट १३१ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत कैलालीको अत्तरिया पुर्याएर फेरि ३३ केभी प्रसारण लाइनमार्फत पहाडी जिल्लामा आपूर्ति गर्दै आएको थियो।
‘अब चमेलियाको विद्युत स्याउले सव–स्टेशनबाट ७ नम्बर प्रदेशका पहाडी जिल्लामा आपूर्ति हुने र लामो प्रसारण प्रणालीले गर्दा भइरहेको प्राविधिक चुहावटमा कमी आउने छ।’ आयोजना प्रमुख रमेशप्रसाद पौडेलले भने, ‘ यसबाट त्यस क्षेत्रको वितरण प्रणाली सुदृढ भई विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय हुने छ।’
प्राधिकरणले चमेलिया सञ्चालनमा आउनुभन्दा पहिले पनि अत्तरियाबाटै ३३ केभी प्रसारण लाइनमार्फत ७ नम्बर प्रदेशका पहाडी जिल्लामा विद्युत आपूर्ति गर्दै आएको थियो।
अत्तरिया–डडेलधुरा–दिपायल ३३ केभी प्रसारण लाइनमार्फत डडेलधुरा र डोटीको दिपायलमा भएका ३३ /११ केभीका सव–स्टेशनमार्फत विद्युतलाई ११ केभीमा परिणत गरी वितरण हुँदै आएको थियो।
प्राधिकरणले डडेलधुराबाट बैतडी हुँदै दार्चुलासम्म र डडेलधुराबाट दिपायल हुँदै अछामसम्म विद्युत आपूर्ति गर्दै आएको छ। अब ती क्षेत्रमा चमेलियाको विद्युत स्याउले सब स्टेशनमार्फत आपूर्ति हुनेछ।
३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा प्रसारण चुहावट बढी हुने र ‘भोल्टेज ड्रप’ हुने समस्या थियो।
समस्याको समाधान गर्न चमेलिया–अत्तरिया १३२ केभी प्रसारण लाइन मुनी पर्ने स्याउलेमा स–स्टेशन निर्माण गरी सञ्चालनमा ल्याइएको हो।
सव–स्टेशनको निर्माण आर्थिक वर्ष ०७२/७३ मा सुरु गरिएको थियो। सव–स्टेशनमा १३२ र ३३ केभीको एउटा पावर ट्रान्सफर्मर र ३३/११ केभीको एउटा वितरण ट्रान्सफर्मर राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।