राजविराज– भारतका विभिन्न राज्यमा आगामी अप्रिल र मे महिनामा हुन लागेको लोकसभा चुनावलाई लक्षित गरी प्रदेश १ र २ का विभिन्न जिल्लामा संयुक्त गस्ती सुरु भएको छ। भारतीय प्रहरी र नेपालतर्फबाट सशस्त्र प्रहरीको टोलीले सीमाक्षेत्रमा संयुक्त गस्ती सुरु गरेका छन्।
फागुन ५ गते भारतको वीरपुर तथा माघ २८ गते धनुषाको जनकपुरमा सम्पन्न दुईदेशीय बैठकमा भएको निर्णयअनुसार संयुक्त गस्ती सुरु गरिएको सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले बताए।
‘चुनावको समयमा सीमाक्षेत्रमा हुन सक्ने अवाञ्छित गतिविधिप्रति भारतीय सुरक्षा अधिकारीको चिन्ता देखियो,’ पौडेलले भने, ‘सुरक्षाको विषय भएकाले संयुक्त गस्ती गर्ने उनीहरुको प्रस्ताव हामीले पनि समर्थन गरेका छौं।’
भारतको मधुवनी र सुपौल जिल्लासँग सीमा जोडिएका सप्तरीको ७८ किलोमिटर क्षेत्रसहित प्रदेश २ का सिरहा, धनुषा, महोत्तरी तथा प्रदेश १ को मोरङ्ग, सुनसरीलगायतका जिल्लामा संयुक्त गस्ती सुरु भइसकेको पौडेले बताए। चुनाव नजिकिँदै जाँदा गस्ती कडाई गरिने उनको भनाइ छ।
दुवै बैठकले चुनावका बेला ४८ घन्टा नेपाल-भारत सीमा क्षेत्र सिल गर्ने निर्णय गरेको छ।
अपराध हुन नदिन कडा निगरानी
बैठकमा सीमा क्षेत्रमा हुन सक्ने आपराधिक घटना नियन्त्रण तथा नक्कली रुपैयाँको ओसार-पसारलगायतका अपराधिक घट्ना रोक्न दुबैतर्फबाट पहल गर्ने निर्णय भएको जानकारी दिइएको छ।
नेपालमा अपराध गरी भारत जाने र भारतमा अपराध गरी नेपालमा लुक्ने प्रवृत्तिले बढेकाले दुबै देशमा आपराधिक घट्ना पनि बढेको विषयमा बैठकमा गम्भीर छलफल भएको छ।
‘संदिग्ध व्यक्तिलाई दुबैतर्फबाट कडा निगरानी गर्ने सहमति भयो’ सिडिओ पौडेलले भने, ‘यसले अपराध घटाउन सहयोग पुग्ने विश्वास लागेको छ।’
नेपाल-भारतबीच हुने यसअघिका सुरक्षा बैठकझैं यस पटकको बैठकमा पनि भारतीय पक्षले मदिराको विषयलाई गम्भीरतापूर्वक उठान गरेका छन्। नेपाली टोलीले भने लागुऔषधको ओसार-पसार रोक्नु पर्ने विषयमा भारतीय पक्षको ध्यानाकर्ष गराएको छ।
‘उनीहरूले हरेक बैठकमा मदिराको कुरालाई जोडतोडले उठाउँछन्,’ पौडेलले भने, ‘हामी पनि लागुऔषध रोक्नोस् भनेर प्रस्तुत हुन्छौं।’
सप्तरीमा मात्रै साउनभन्दा यता ५२ हजार लिटर मदिरा र ४२ केजी गाँजा नियन्त्रणमा लिई नष्ट गरेको विषयमा जानकारी गराएपछि भारतीय पक्षले लागुऔषध नियन्त्रणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए। ‘लागुऔषध भित्रने नाका तथा बिक्री/वितरण हुने स्थान किटान गर्न उनीहरूले सुझाएका छन्,’ पौडेलले थपे, ‘हामीले त्यसको निगरानी र रिपोर्टिङ्ग सुरु गरेका छौं।’
जनकपुरमा भएको बैठकमा धनुषाका सिडिओ प्रदीप कँडेल तथा मधुवनीमा भएको बैठकमा सुनसरीका सिडिओ प्रेमप्रकाश उप्रेतीले नेपाली टोलीको नेतृत्व गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।