काठमाडौं- राष्ट्रियसभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनामा अहिलेको वास्तविक अवस्थाबारे बुझ्न सांसदहरुलाई जिम्मेवारी दिएको छ।
सरकारले उच्च प्राथमिकता र महत्वका साथ अघि बढाएका राष्ट्रिय गौरवका २१ आयोजनाबारे बुझ्न समितिले सांसदहरुलाई जिम्मेवारी दिएको हो।
आयोजनाको समग्र वस्तुस्थिति, कामको वित्तीय तथा भौतिक कार्यान्वयनको अवस्था, कार्य प्रगतिमा भइरहेको ढिलासुस्तीका र बाधा तथा चुनौतीका विषयमा अध्ययन गर्न जिम्मेवारी तोकिएको छ। आयोजनालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरियता कायम गर्दै समयमै आयोजनाहरु सम्पन्न गर्न समन्वय तथा अनुगमनसमेत गर्न समितिले निर्देशन दिएको हो।
समितिले पश्चिम सेती जलविद्युत आयोजना र रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको जिम्मा इन्दु कडरिया, सिक्टा सिँचाइ आयोजना र बबई सिँचाइ आयोजनाको जिम्मा कोमल वली र निजगढ अन्तराष्ट्रिय विमानस्थल र लुम्बिनी क्षेत्र विकास आयोजनाको जिम्मा खिमलाल भट्टराईलाई दिएको छ।
त्यसैगरी, खेमराज नेपालीलाई मध्यपहाडी लोकमार्ग र कोसी करिडोर, जीवन बुढालाई कर्णाली करिडोर र भेरी बबई बहुउद्देश्यीय डाइभर्सन, दीपा गुरुङलाई पोखरा क्षेत्रीय विमानस्थल, धनकुमारी खतिवडालाई पशुपति क्षेत्र विकास आयोजना र माथिल्लो तामाकोसी जलविद्युत आयोजना र प्रकाश पन्थलाई कालीगण्डकी करिडोरका बारेमा अध्ययन गर्ने जिम्मेवारी दिइएको छ।
हुलाकी राजमार्गको अध्ययन गर्न रमेशप्रसाद यादव, काठमाडौं फास्ट ट्र्याकको अध्ययन गर्न रामचन्द्र राईलाई, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र पूर्वपश्चिम विद्युतीय रेलमार्गको अध्ययन गर्न रामपृत पासवानलाई र मेलम्ची खानेपानी आयोजना र बुढीगण्डकी जलविद्युत आयोजनाका बारेमा अध्ययन गर्न सुरेन्द्रराज पाण्डेलाई जिम्मेवारी दिइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।