राजविराज– उपप्रधान एवम् रक्षा मन्त्री इश्वर पोखरेलले सरकारको काम गराई र जनमत देखेर आत्तिएका कम्युनिष्ट विरोधीहरु हातमा मसाल बाेकेर हिँडिरहेको बताएका छन्।
नेपाली सेनाको सहयोगमा स्वास्थ्य मन्त्रालयद्वारा आयोजित वृहत स्वास्थ्य शिविरको अवलोकन गर्न सोमबार सप्तरी आएका मन्त्री पोखरेलले नेकपाका कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा यस्तो बताएका हुन्।
‘संघीय सरकारदेखि प्रदेश र स्थानीय तहसम्म दुई तिहाईको कम्युनिष्ट सरकार दुनियाँमा कहीं, कतै छैन’ भन्दै उनले यही अवस्थालाई देखेर कम्युनिष्ट विरोधी देशी-विदेशी शक्ति तथा देशमै पनि सरकार विरोधीहरु आत्तिएको बताए। ‘उनीहरुलाई अब हामी सक्कियौं भन्ने लागेको छ, हातमा मसाल बाेकेर आगो लगाउन हिडेका छन्’, उनले थपे, ‘कहिले डा केसी त कहिले निर्मला पन्तको मुद्दामा झोसिरहेका छन्, पछिल्लो पटक वाइडबडीमा झोसे। तर, आगो लागेन।’
विरोधीहरु जति नै छट्पटाए पनि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले जारी गरेको संयुक्त घोषणा पत्र सरकारले अक्षरस पालना गर्ने उनले दाबी गरे। ‘हामीले अहिले मुलुक समृद्धिको जग हाल्नेसम्मको काम सकेका छौं। अब दिवाल र झ्यालढोका कसरी लाग्छन्, अर्को बजेटमा हेर्नुहोला’, उनले भने, ‘संयुक्त घोषणा पत्रमा टिक लगाएर बस्नोस्, हाम्रो कार्यकालमा सबै प्रतिवद्धता पुरा गरेर देखाउँछौं।’
सरकारले आश्वासन मात्रै बाँढेको भन्दै असन्तुष्टि बढेको विषयमा पनि मन्त्री पोखरेलले प्रष्टिकरण दिएका छन्। ‘ज्येष्ठ नागरिकलाई ५ हजार भत्ता दिने कुरा खै? भन्नुहोला। त्यो पनि हाम्रै कार्यकालमा पुरा हुन्छ’, उनले भने, ‘पहिलो बजेटवबाट हामीले ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा गरेका छौ। आगामी बजेटमा ५ हजार भत्ताको कुरा पनि पुरा हुन्छ।’
नेकपाको एकता प्रकृयामा शंका नगर्न पनि उनले कार्यकर्तालाई आग्रह गरे। एमाले–माओवादी एकता लहडको भरमा नभई जनता र कार्यकर्ताको चाहना तथा मुलुकको आवश्यकताका आधारमा भएको बताएका पोखरेलले यो प्रकृया असफल भए दुर्भाग्यपूर्ण हुने प्रष्ट पारे। ‘भर्याङ र दिवालबाट लडे घाउ–चोट लाग्छ। त्यो भन्दा धेरै भए हातखुट्टा भाँचिन्छ’, एकता आवश्यकतालाई जोड दिँदै उनले भने, ‘तर, हामी अहिले यति उचाईमा छौं, जहाँबाट लड्यो भने अपुरणीय क्षती हुन्छ। जुन कम्युष्टिहरुकै लागि दुर्भाग्यपुर्ण हुन्छ।’
पार्टी एकता प्रकृयामा भइरहेको ढिलाइका विषयमा ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ भन्ने गीत सम्झिदै नेतृत्वकै कमजोरीका कारण प्रदेशभन्दा तलका पार्टी संरचना एक हुन नसकेको प्रष्ट्याए। स्थानीय स्तरमै पार्टी एकता गर्ने छुट दिनुपर्नेमा हरेक कुरालाई केन्द्रिकृत गर्ने मानसिकताले एकता प्रकृया अल्मलिएको उनको आरोप छ।
‘स्थानीय नेता/कार्यकर्तालाई जिम्मेवारी दिएको भए, पहिलै मिल्थ्यो’, उनले भने, ‘हरेक निर्णय केन्द्रिकृत गर्ने मानसिकता र हिसाब–किताब गरेर बटवारा गर्दा मिलाउन गाह्रो भो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।