जनकपुर- पिकअप भ्यानमामा उकोचाउचा फ्लेक्स बोर्ड राखेर सिरहाकाे लहानबाट मरिच भारत तस्करी हुने गरेको छ।
सिरहाको लहानका केही व्यापारीहरुकाे सेटिङमा तेस्रो मुलकबाट आयातित मरिच भारत पैठारी गराइने गरेको खुलासा भएको हाे। यसअघि सुपारी, सुकमेल, लसुन, अलैची तेस्रो मुलुकबाट खरिद गरी अवैधरुपमा भारत पैठारी गराउने गिरोहहरुको धन्दा यत्तिबेला मरिचतर्फ आकर्षित भएकाे हाे।
मरिच तस्करीकाे गुथी पत्ता लगाउन नेपाल लाइभकाे टाेली लहानबाट निस्किएको चाउचाउकाे बाेर्ड झुन्डिएको एक जिपकाे पिछा गर्दै अघि बढ्छ। साे क्रममा उक्त जिप बरियारपट्टी गाउँपालिकामा पर्ने सिमावर्ती गाउँ ब्रहरीको एक पक्की घरमा मरिचको बोरा झार्दै गरेको फेला पर्छ। पिकअप जिपबाट केही चाउचाउको प्याकेट र अधिकतम मरिचको बोरा अनलोड गरी साेही पक्की घरमा राखिन्छ। अन्तत: त्यहाँबाट रातारात कचनारी प्रहरीकै संरक्षणमा अवैधरुपमा भारत पैठारी गर्ने गरिएको खुलासा भएको छ।
तेस्रो मुलुकबाट आयात गरिने मरिच कानुनत: नेपालमै खपत हुनुपर्छ। तर, तथ्यांक हेर्ने हो भने यहाँ खपत हुनेभन्दा धेरै बढी आयात भएको देखिन्छ। यसरी आयात भएको मरिच खुला सीमाको फाइदा उठाउँदै आयातकर्ताले अवैध रूपमा भारत पठाउने गरेका छन्। नेपालमा भन्दा भारतमा प्रतिकेजी २ सय रुपैयाँसम्म बढी मूल्य भएका कारण आयातकर्ताले नेपालका लागि मगाएर भारत पठाउने गरेका हुन्।
यसका साथै मरिच धनुषा, सिरहा, मोरङ, सुनसरी, झापालगायतका सीमावर्ती क्षेत्रहरूबाट चोरी निकासी हुने गर्छ। भियतनामबाट आयातित मरिचको खुद्रा मूल्य नेपालमा प्रतिकिलोग्राम ७ देखि ८ सय रुपैयाँ पर्छ भने भारतमा यसको मूल्य ९ सयभन्दा माथि छ। मूल्य अन्तरकै कारण मरिचको पैठारी बढेको छ।
नेपालमा सामान्यतया: भियतनामबाट मरिच आयात हुन्छ। यसअघि इन्डोनेसिया र थाइल्यान्डबाट सुपारी आयात गरी अवैधरूपमा भारत निकासी गरिँदै आएको थियो। सुपारीमा कडाइ भएपछि केही समय आयातकर्ताले सुकुमेलको आयात गरी भारत निकासी गरेकाे स्राेत बताउँछ। यत्तिबेला मरिचसँगै केराउसमेत नेपालबाट अवैधरुपमा पैठारी हुने गरेको छ।
कचनारी प्रहरी इन्चार्ज धनबहादुर खड्काको निगरानीमै रातारात मरिच नेपालबाट भारत पैठारी हुने गरेको छ। प्रहरी खड्काकै मिलोमतोमा कचनारी ब्रहरी नरगी हुँदै गिट्टी बालुवा समेत पैठारी हुने गरेको स्थानीय बताउँछन्।
उता, जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जीवन श्रेष्ठ भने साे कुरा मान्न तयार छैनन्। भन्छन्, 'यो सम्भव छैन। यदि यस्तो भइरहेको छ भने यथाशिघ्र कारोबार बन्द हुन्छ। यसको अनुसन्धान र आवश्यक कारबाहीका लागि विशेष प्रहरी टोली खटाउँछु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।