काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुको चर्को ब्याजदर घटाउनेबारे विकल्पको खोजी गर्न अर्थमन्त्री युवराज खतिवडा र गभर्नर चिरञ्जीवी नेपाललाई निर्देशन दिएका छन्।
शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको उद्योगी-व्यवसयीसहितको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्।
‘उद्योग नचले बैंक कसरी चल्छ?’ प्रधानमन्त्री ओलीले अर्थमन्त्रीसहितको छलफलमा भने, ‘बढ्दो बैंकिङ ब्याजदर घटाउन सकिने किल्पहरुको खोजी गर्नुहोस्।’
साथै उद्योगीहरुले प्रधानमन्त्रीसँग आफूहरु कहिले पनि आन्दोलनमा नरहेको र आन्दोलन पनि नगर्ने भन्दै बढ्दो ब्याजदरको समस्या समाधान गरिदिन आग्रह गरेको उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए।
छलफलमा प्रधानमन्त्री ओलीले बैंकहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न ब्याजदरमा लचिलो हुन समेत आग्रह गरेका छन्। बैंकहरुलाई मुख्य गरी उत्पादनमूलक, रोजगारीका अवसर सृजना गर्न, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरुमा लगानी गर्न पनि उनले सुझाव दिएका छन्।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बैंकले चर्को ब्याज लिएकाले व्यवसायी मारमा परेको भन्दै ६ बुँदे सुझाव पेस गरेकी थिइन्।
अध्यक्ष राणाले ५० प्रतिशत कर्जा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने, पुनर्कर्जा १ खर्ब बनाउनुपर्ने, सीसीडी रेसियो पुनरवलोकन गर्नुपर्ने, स्प्रेड दर ३ प्रतिशतमा झार्नुपर्ने, अनुदानमा एलसी खोल्न पाउनुपर्ने, पूँजीगत खर्च वृद्धि गर्नपर्नेलगायतका सुझाव दिएकी थिइन्।

‘लगानी गरेपछि त्यसबाट अर्थतन्त्रमा केही न केही टेवा पुग्ने क्षेत्रमा लगानी बढाउनुहोस् र त्यस्त क्षेत्रमा गरेको लगानीको ब्याजमा पनि लचिलो हुनुहोस्,' प्रधानमन्त्री ओलीले भने, ‘सबैभन्दा बढी लगानी कृषि क्षेत्रमा गर्नुहोस् र सबभन्दा कम ब्याज उठाउनुहोस्। विलासिताका वस्तुमा लगानी कम गर्नुहोस्। ब्याज बढी गर्नुहोस्।’
बैंकहरुले एउटा सर्तमा ऋण दिने र आफूखुसी ब्याज बढाउँदै लैजाने कुरा उपयुक्त नहुने भन्दै प्रधानमन्त्रीले यसमा सरकारले नियमन गर्नेसमेत बताए। सरकारले सबै क्षेत्रको एकाधिकार तोड्न खुला प्रतिस्पर्धाको वातावरण बनाउने प्रतिबद्धता पनि गरे।
बैंक तथा वितीय संस्थाद्वारा घोषित चर्को ब्याजदरका कारण निजी क्षेत्रलाई परेका समस्या र समाधानका लागि नेपाल सरकारले चाल्नुपर्ने कदमका सम्बन्धमा महासंघ नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई जानकारी गराएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।