काठमाडौं- पश्चिमी वायुको प्रभावले आगामी शनिबारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौमसविद् राजु प्रधानाङ्गले कमजोररुपमा विकसित भएको पश्चिमी वायुको प्रभावले बदलीसँगै हल्का वर्षा गराउने बताए। उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म जारी रहने र आइतबारदेखि मौसममा सुधार आउने उनको भनाइ छ। अघिल्लोपटक देखापरेको पश्चिमी वायुले तीन दिनसम्म देशैभर बदली र वर्षा गराएको थियो।
उक्त प्रणाली कमजोर भएको चार दिनमै पुनःपश्चिमी वायु नेपालको आकाशमा देखापरेको हो।
यसैबीच महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै देशका अधिकांश भेगमा बादल लागिरहने र सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भेगका अधिकांश स्थान, मध्य तथा पूर्वी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना औंल्याएको छ। उच्च पहाडी र हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
शनिबार पनि देशका अधिकांश स्थानमा बदली र पश्चिम, पूर्वी तथा मध्य नेपालका पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।
काठमाडौं उपत्यकामा तीन/चार दिनयता घाम लागेकाले केही न्यानो महसुस गरिए पनि पश्चिमी वायुको प्रभावले शुक्रबारदेखि बदली गराएका कारण केही चिसो बढेको छ। बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको थियाे। महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार डडेलधुरामा ७, वीरेन्द्रनगरमा ५ र दाङमा १ मिलिमिटर वर्षा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।