भक्तपुर- युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले देशमा अब कोही पनि युवा बेरोजगार भएर बस्नु नपर्ने बताएका छन्।
आज भक्तपुरको राधेराधेस्थित श्यामाश्यामाधाममा डिभाइन युथ क्लब नेपालले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको तीन दिवसीय राष्ट्रिय युथ स्प्रीच्युबल ह्यापिनेस क्याम्पमा उनले भने, 'रोजगारीका लागि युवालाई विदेश पलायन हुनबाट रोक्नु अपरिहार्य रहेको छ, त्यसैले सरकारले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेको छ, अब हाम्रो देशमा युवा बेरोजगार भएर बस्नु पर्दैन।'
युवालाई आध्यात्मिक चिन्तनबाट सकारात्मक धारणा अभिवृद्धि गरी समाज रुपान्तरण गर्ने कार्यका लागि अभिप्रेरित गर्नु आवश्यक रहेको उनले बताए।
युवाको काँधमा मुलुक परिवर्तन गर्ने जिम्मेवारी आएको बताउँदै उनले युवालाई सकारात्मक बाटोमा लाग्न प्रेरणा दिने कार्यक्रम अघि सार्नुपर्ने बताए।
देशभरबाट युवाको सहभागिता रही तीन दिनसम्म चल्ने क्याम्पमा सीपमूलक प्रशिक्षण, सामाजिक सेवा, प्रादेशिक पहिचान झल्कने सांस्कृतिक कार्यक्रम, युवाका लागि तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण लगायतका विभिन्न कार्यक्रम सञ्चालन हुने क्लब अध्यक्ष निरज घिमिरे जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।