काठमाडाैं- राष्ट्रियसभाका सदस्यहरुले समसामयिक विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य कालीबहादुर मल्लले सिंहदरबारभित्रका ग्यालरी बैठकमा टुठेफुटेका सामानहरु थुपार्ने काम गरिएको भन्दै त्यसको सही व्यवस्थापन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
उनले सिंहदरबारभित्र राखिएका बिग्रिएका सवारीसाधनको पनि तत्काल सही व्यवस्थापन गर्न माग गरे। उनले भने, 'अबको २० वर्षपछि सिंहदरबार बाहिर र सिंहदरबार भित्र डम्पिङ साइट हुने देखिन्छ। यसकारण सम्बन्धित पक्षको ध्यानाकर्षण होस्।'
उनले मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा दुरदराजका सर्वसाधरणलाई असहज भएको भन्दै सहज बनाउन सरकारको ध्यानाकर्षण गराए। उनले कडा सुरक्षा जाँचका साथै नागरिकता वा परिचयपत्रको आधारमा सिंहदरबार प्रवेष गर्नसक्ने गरी व्यवस्था मिलाउन उनले आग्रह गरे। दुर्गम क्षेत्र विकास आयोजना अन्तर्गतका अलपत्र परेका योजनाहरुको जिम्मा लिई पुरा गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए।
अर्का सदस्य ठगेन्द्र प्रसाद पुरीले रुकुम पश्चिमको सदरमुकामस्थित जिल्ला अस्पतालमा ४ जना डाक्टर र एक जना मेडिकल सुपरिटेण्डेन्टको दरबन्दी भएपनि अहिले एक जना मात्रै डाक्टर कार्यरत रहेको भन्दै दरबन्दी अनुसारको डाक्टरहरु खटाउन माग गरे।
अनिता देवकोटाले मुल्यवृद्धि, भ्रष्टाचार, दण्डहिनता लगायतले सगरमाथा चुमेको भन्दै दुई तिहाईको सरकारको अनुभूति जनताको जीवनस्तरमा परिर्वतन आउन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराए।
राष्ट्रियसभा सदस्य रमेशप्रसाद यादवले वनको सीमा क्षेत्र अतिक्रमण गर्ने, विनास गर्ने काम भइरहेको भन्दै सीमा सुरक्षालाई प्रभावकारी बनाउनुको साथै अतिक्रमण हुनबाट जोगाउन वनमन्त्रीको ध्यानाकर्षण गराए। उनले २०१२ सालको नापी बमोजिम वन क्षेत्र निश्चित गर्न पनि माग गरे। उनले राष्ट्रियसभा सदस्यको मर्यादाक्रममा सुधार गर्न पनि माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।