काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा सिवाइसी अत्तरिया शीर्ष स्थानमा उक्लिएको छ। लगातार दोस्रो जित हात पारेर अत्तरिया शीर्ष स्थानमा उक्लिएको हो। अत्तरियाले बिहीबार भएको खेलमा रुपन्देही च्यालेञ्जर्सलाई ३९ रनले हराएको हो।
धनगढीको फाप्ला मैदानमा अत्तरियाले दिएको १ सय २२ रनको लक्ष्य पछ्याएको रुपन्देही २० ओभरमा ८२ रनमै अलआउट भयो। उसका लागि सुमित महर्जनले नटआउट २२ रन जोडे। उनले २२ बलमा १ चौका र १ छक्का हिर्काए। ओपनरद्वय प्रदीप ऐरीले १४ र सन्दीप सुनारले १५ रनको योगदान गरे।
बलिङमा अत्तरियाका सनी पटेल, भुवन कार्की, दीपेन्द्रसिंह ऐरी र दीपेन्द्र रावतले २–२ विकेट लिए। कमलसिंह ऐरीले १ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले ९ विकेटको क्षतिमा १ सय २१ रन जोड्यो। उसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ६७ रनको योगदान दिए। उलने बाबर हायतबाट रनआउट हुनुअघि ५० बलमा १० चौका र १ छक्का प्रहार गरे। अन्य ब्याट्सम्यान भने सस्तैमा आउट भएका थिए।
बलिङमा रुपन्देहीका ललित भण्डारीले ३ विकेट लिए। विक्रम शोवले २ विकेट लिए। बसन्त रेग्मी र पुनित मेहराले १–१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।