काठमाडौं— सन् २०२० मा जापानमा हुने ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको छनोटको दोस्रो चरणमा नेपालले पुरानै प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्ने भएको छ।
बुधबार एसियाली फुटबल महासंको मुख्यालय क्वालालम्पुरमा भएको ड्रअनुसार दोस्रो चरणको छनोटमा नेपाल, भारत, म्यानमार र इन्डोनेसिया समूह ‘ए’ मा परेका छन् । खेलहरू अप्रिल १ देखि ९ सम्म म्यानमारमा हुनेछ ।
यसअघि म्यानमारको राजधानी यांगुनमा गत नोभेम्बरमा भएको पहिलो चरणको छनोटमा पनि म्यानमार, नेपाल, भारत र बंगलादेश एउटै समूहमा थिए । तीनै खेल नेपालले १–१ को बराबरी खेलेको थियो। अंक तालिकामा भने नेपाल म्यानमार र भारतभन्दा पछाडि परेको थियो। यद्यपी नेपाल उत्कृष्ट तेस्रो टिमका रूपमा छनोटको दोस्रो चरणमा अवसर पाएको थियो।
भारतमा भइरहेको हिरो गोल्डकपमा पनि नेपालले भारत र म्यानमारसँग भिडेको थियो। नेपालले भारतलाई २–१ ले हराउँदा म्यानमारसँग ३–० को हार बेहोरेको थियो। नेपालले म्यानसारसँग शुक्रबार उपाधिका लागि भिड्दैछ।
छनोटमा समूह शीर्ष हुने टिम मात्र तेस्रो चरणमा पुग्नेछन्। तेस्रो चरणका लागि अस्ट्रेलिया, उत्तर कोरिया, दक्षिण कोरिया, चीन र थाइल्यान्ड छनोट भइसकेका छन्। दोस्रो चरणबाट छनोट भएका र सिधैं तेस्रो चरणमा पुगेका टिमलाई २ समूहमा विभाजन गरेछन्। समूहका शीर्ष २ टिमले जापान हुने ओपलम्पिक खेल्ने अवसर पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।