आम्स्टर्डम– युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा स्पेनिस महारथी रियल म्याड्रिडले जित निकालेको छ। रियलले बुधबार राति भएको खेलमा डच क्लब अजाक्सलाई उसैको मैदानमा २–१ गोलले पराजित गरेको हो।
खेलको ६० मिनेटमा करिम बेन्जिमाले गोल गरेर रियललाई अग्रता दिलाएका थिए। तर ७५ मिनेटमा जिएचले अजाक्सका लागि बराबरी गोल फर्काए।
खेल सकिन ३ मिनेट बाँकी छदा रियलले खेलमा दोस्रो पटक अग्रता लियो। यसपटक एसेन्सियोले गोल गरेका थिए। अवे खेलमा महत्वपूर्ण जित हात पारेसँगै रियललाई फाइदा पुगेको छ।
खेलमा अजाक्सका निकोलास ट्याग्लिफियो गोललाई भिडियो एसिस्टेन्ड रेफ्री अमान्य घोषित गर्दा पनि रियलले महत्वपूर्ण जित निकाल्न सकेको हो।
यस्तै अजाक्सका डुसा टाडिकको प्रहार पोस्टमा लागेको थियो भने गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा डेभिड नेरेस गोल गर्न चुकेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।