काठमाडौं– भारतमा जारी हिरो महिला गोल्डकपमा नेपाल फाइनलमा प्रवेश गरेको छ।
समूह चरणको अन्तिम खेलमा म्यानमारले आयोजक भारतलाई २-० गोलले हराएपछि नेपालले फाइनलमा स्थान पक्का गरेको हो।
अब उपाधिका लागि नेपाल र म्यानमारबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ।
त्यसअघि नेपालले समूहको आफ्नो अन्तिम खेलम इरानलाई हराउँदै फाइनलको बाटो बनाएको थियो। नेपालले बुधबार भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा भएको खेलमा इरानलाई ३–० गोलले हराएको थियो।
यसअघि नेपालले दोस्रो खेलमा भारतलाई २–१ ले हराएको थियो। पहिलो खेलमा म्यानमारसँग ३–० गोलले पराजित भएको नेपालको समूहमा ६ अंक भएको छ। म्यानमार ९ अंक जोड्दै समूहमा शीर्ष भयो। भारतले भने ३ अंक मात्र जोड्न सक्यो। इरान भने तीनै खेलमा पराजित भयो। म्यानमारविरुद्धको खेलमा भारत विजयी भएको भए नेपाल समूह चरणबाटै बाहिरने थियो।
चार टोली आयोजक भारत, इरान, नेपाल र म्यान्मा सहभागी प्रतियोगिताका शीर्ष दुई टोली फाइनल पुग्ने प्रावधान थियो।
बुधबार नेपालको जितमा सावित्रा भण्डारीले २ गोल गर्दा अनिता बस्नेतले १ गोल गरिन्। खेलको ४१ मिनेटमा अनिताले गोल गरेर नेपाललाई अग्रता दिलाएकी थिइन्। उनले भलि सर्टमार्फत उत्कृष्ट गोल गरेकी थिइन्।
५९ मिनेटमा नेपालले अग्रता दोब्बर पार्योम। सावित्रा अफसाइड ट्र्याप बिट गर्दै गोल गरेकी थिइन्। खेल सकिन १ मिनेट बाँकी छदा उनले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरिन्। जारी प्रतियोगिताम सावित्राको यो चौथो गोल हो। यसअघि उनले भारतविरुद्ध पनि २ गोल गरेकी थिइन्। सो खेलमा नेपालले महिला फुटबलमा भारतविरुद्ध पहिलो पटक जित हात पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।