काठमाडौं– भारतमा जारी हिरो महिला गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा इरानलाई हराउँदै नेपाल फाइनल नजिक पुगेको छ। नेपालले बुधबार भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा भएको खेलमा इरानलाई ३–० गोलले हराएको हो।
यसअघि नेपालले दोस्रो खेलमा भारतलाई २–१ ले हराएको थियो। पहिलो खेलमा म्यानमारसँग ३–० गोलले पराजित भएको नेपालको समूहमा ६ अंक भएको छ। म्यानमारको पनि ६ अंक भने भारतको ३ अंक छ। केहिबेरमा भारत र म्यानमारबीच खेल हुँदैछ। सो खेल बराबरीमा सकिए वा म्यानमार विजयी भए नेपाल फाइनलमा पुग्नेछ। भारतले थोरै गोलअन्तरमा म्यानमारलाई हराएमा नेपाल फाइनल पुग्ने सम्भावना बढी हुन्छ।
चार टोली आयोजक भारत, इरान, नेपाल र म्यान्मा सहभागी प्रतियोगिताका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन्।
बुधबार नेपालको जितमा सावित्रा भण्डारीले २ गोल गर्दा अनिता बस्नेतले १ गोल गरिन्। खेलको ४१ मिनेटमा अनिताले गोल गरेर नेपाललाई अग्रता दिलाएकी थिइन्। उनले भलि सर्टमार्फत उत्कृष्ट गोल गरेकी थिइन्।
५९ मिनेटमा नेपालले अग्रता दोब्बर पार्यो। सावित्रा अफसाइड ट्र्याप बिट गर्दै गोल गरेकी थिइन्। खेल सकिन १ मिनेट बाँकी छदा उनले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरिन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।