काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले यही दिन देख्न चाहेको बताएका छन्। बुधबार प्रधानमन्त्री रोजगार कार्यक्रमको सुभारम्भ सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको आफूहरुको यात्रा सुशासन र समृद्धितर्फ अगाडि बढेको बताए।
'एउटा भैंसी हेरेर एउटा जीवले भन्छ– मरेदेखि खान्थेँ। हेर्दाहेर्दै भैंसी ब्यायो। दूध पनि दियो। मर्ला र खाऊँला भन्ने जीवले भन्छ– यही दिन देख्नको लागि म बाँचेको थिएँ? तर भैंसीका लागि, पाडाका लागि, भैंसी पाल्नेका लागि त्यही दिन देख्न खोजेको हो,' प्रधानमन्त्रीले भने, 'नेपाली जनताले देख्न खोजेको दिन यही हो। जनताले आफैंले बनाएको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व, महिला अगाडि बढेको लोकतन्त्र, पछाडि पारेको समुदाय अगाडि बढेको लोकतन्त्र, सामाजिक न्याय सहितको लोकतन्त्र देख्न खोजेको हो।'
प्रधानमन्त्रीले लोकतन्त्रले हरेक नेपालीलाई सुशिक्षित, स्वस्थ, रोजगार, सम्पन्न बनाउन सक्नुपर्ने बताए।
'नेपाली समाजलाई अपराध नभएको समाज बनाउनुपर्छ', उनले थपे, 'अब नेपालको सिमानाभित्र पस्यो। अब गरगहना, सम्पत्ति, झोलामा भएका चिजको पनि चिन्ता गर्नुपर्दैन किनभने यहाँ हराउँदैन भन्ने स्थिति हुनुपर्यो।'
प्रधानमन्त्री ओलीले रोजगार कार्यक्रम नेपालका लागि नयाँ कार्यक्रम भएको बताए। 'मैले भन्ने गरेको छु– नेपाल हरेक दिन एक कदम अगाडि बढ्यो', उनले थपे, 'हिजोभन्दा आज हामी एक कदम अगाडि बढ्यौं। आजभन्दा भोलि अर्को एक कदम अगाडि बढ्छौं।'
उनले स्पष्ट र स्थिर नीतिका साथ नेपाल अगाडि बढेको र त्यसकै आधारमा अब छिटै विकास गर्न सकिने दाबी गरे।
प्रधानमन्त्री ओलीले बहुमतको सरकार भएकाले पाँच वर्ष आरामले टिक्ने बताए। 'हामीले यस वर्षलाई आधार वर्ष भनेका छौं', उनले भने, 'संविधान निर्माणको लागि कानुनहरुको निर्माण र संरचना तयार जस्ता कुराहरु मोटामोटी टुंगिएको छ। अब निर्मित संरचना, कानुन, प्रणाली, सुस्पष्ट नीति, बहुमतको सरकार, भिजनसहितको सरकार, काम गर्ने सरकार जो दिनैपिच्छे नयाँनयाँ कुरा ल्याएको ल्यायै छ। अगाडि बढाएको बढायै छ। अनि देश विकासको लागि ढिलो हुन्छ?'
उनले नेकपाभित्र समस्या ल्याउने प्रयास भइरहेको समेत बताए। 'पार्टीभित्र समस्या पैदा गर्ने कोसिस ओहो! थामिसक्नु छैन', प्रधानमन्त्रीले भने, 'बाका कानमा गएर भन्ने– आमा बोक्सी छ। आमाका कानमा गएर भन्ने– बा जड्याहा भइसके। दुवैले पत्याउँदैनन्। फेरि भन्ने– बा पत्याउनुहुन्न के गर्ने, आमा भरै मुख सुघ्न आउँछिन्। आमाको कानमा गएर भन्ने– तपाईं पत्याउनुहुन्न, गएर मुख सुँघ्नुस् न कस्तो गनाउँछ। नभन्दै आमाले गएर मुख सुँघ्छिन्। रक्सी त गन्हाएको हुँदैन तर बाउलाई पक्का हुन्छ– बोक्सी त रहिछ। यस्ता प्रयासहरु थुप्रा भएका छन्।'
प्रधानमन्त्रीले पार्टीमा समस्या पैदा गर्ने प्रयास नगर्न सुझाए। 'न यहाँ आमा मुख सुँघ्न जानेछिन्, न बाले बोक्सीको आरोप लगाउँछन्', प्रधानमन्त्रीले थपे, 'यहाँ त्यो केही चल्नेवाला छैन।'
प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने कोसिस भइरहेको समेत आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।