काठमाडौं- नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या २५ प्रतिशत वृद्धि आएको छ। सन् २०१८ को पहिलो महिनाका तुलनामा सन् २०१९ सोही अवधिमा नेपाल आउने पर्यटकको संख्या २५ प्रतिशले बढेको हो।
सन् २०१९ का जनवरीमा मात्रै हवाई तथा स्थल मार्ग हुँदै नेपाल आउने पर्यटकको संख्या ९१ हजार ७ सय ९३ पुगेको छ।
यो संख्या सन् २०१८ को जनवरीको भन्दा २५ दशमलव ४ प्रतिशतले बढी भएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ।
सन् २०१९ को जनवरीमा हवाई मार्गबाट ७७ हजार ३ सय र स्थलमार्गबाट १४ हजार ४ सय ९३ पर्यटक नेपाल आएको बोर्डको तथ्यांक छ।
सन् २०१९ को पहिलो महिनामा नेपाल भ्रमणमा आउने भारतीय पर्यटकको संख्या २० दशमलव ६ प्रतिशतले बढेको छ।
जनवरीमा नेपाल भ्रमणमा आउने भारतीय पर्यटकको संख्या १४ हजार ६ सय ५० पुगेको छ। यसैगरी, दक्षिण एसियाली राष्ट्रबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ११ दशमलव ६ प्रतिशत बढेको छ।
यस अवधिमा चिनियाँ पर्यटकको संख्या १४ प्रतिशतले बढेको छ। यसैगरी अमेरिकी पर्यटकको संख्यामा २८ दशमलव १ र अष्ट्रेलियाली पर्यटकको संख्या ३१ दशमलव ३ प्रतिशले बढेको बोर्डको तथ्यांकमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।