काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सिराहामा पुग्दा माइत नै गएजस्तो लाग्ने गरेको बताएका छन्।
सोमबार सिराहाको महनौरमा स्वास्थ्य चौकी भवन उद्घाटन गर्दै प्रचण्डले भने, ‘सिराहामा आउँदा कहीँ अन्त गए जस्तो लाग्दैन्, एउटा छोरी माइत गएजस्तो र म पनि यहाँ आउँदा माइत नै आएजस्तो लाग्छ।’
पञ्चायत र जनयुद्धका बेला पनि सिराहामै सक्रिय रहेको भन्दै उनले पटक–पटक त्यहाँ गएको बताए।
प्रचण्ड २०७० सालको संविधानसभा निर्वाचनमा सिराहाबाटै निर्वाचित भएका थिए। उनले चुनाव प्रचारका बेला पनि ‘मधेशसँग लभ परेको’ र सिराहा आफूलाई ‘माइतीघर जस्तै’ लाग्ने बताएका थिए।
प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि आफूले मधेशको पक्षमा र संविधान संसोधनका पक्षमा पहल गरेको दाबी गरे।
त्यस्तै, नागरिकता सम्बन्धी विधेयक संसदमा पेस भएर छलफल चलिरहेको भन्दै प्रचण्डले भने, ‘अब जन्मसिद्ध नागरिकका छोराछोरीको समस्या सदाका निम्ति समाप्त हुँदैछ, अब नागरिकताको समस्या रहँदैन।’
त्यस्तै, उनले आफ्नो पार्टी नेतृत्वको सकारले तराई मधेशका निम्ति झन्डै दुई अर्बको बजेट व्यवस्था गरेको भन्दै त्यो चाँडै वितरण हुने बताए।
प्रचण्डले आजै आफूले उद्घाटन गरेको स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर लगायतको व्यवस्था गर्ने पनि आश्वासन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।