काठमाडौं- सरकारले साँढे ३ वर्षभित्र भारतसँगको सीमासम्बन्धि समस्या समाधान गर्ने योजना अघि सारेको छ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सो अवधिमा भारतसँगको सीमासम्बन्धि सबै समस्या समाधान गर्ने योजना अघि सारेका हुन्।
आईतबार संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपालको सीमा सुरक्षा व्यवस्थापन सम्बन्धमा भएको छलफलमा मन्त्री ज्ञवालीले सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी बढाउँदै लगेको जानकारी दिए।
'हाल १ सय ४ सीमा सुरक्षा चौकी रहेकोमा बढाएर १ सय ७४ बनाउने सरकारको योजना छ। नेपालको भूमि कतैबाट पनि अतिक्रमण नहोस् भन्ने उद्देश्यले यसो गर्न लागिएको हो,' परराष्ट्रमन्त्री ज्ञवालीले भने।
बैठकमा समितिका सदस्यहरुले सीमा क्षेत्रका जनताको लालपूर्जा समेत खोसेर सीमा मिचिने गरेको भन्दै ती समस्या समाधानका लागि तत्काल पहल गर्न सरकारलाई सचेत गराएका थिए।
'सीमा सुरक्षाका लागि सुरक्षा चौकीहरु बनाउँदा नेपालले अन्तराष्ट्रिय कानुन अनुसार स्वाधिन राष्ट्रको हैसियतले बनाउनुपर्ने आवश्यक्ता छ,' समिति सदस्य भीम रावलले भने, 'अन्तराष्ट्रिय कानुनले दिएका अधिकार प्रयोग गरी भारत र चीन दुवै मुलुकबाट नेपालको सीमा अतिक्रमण हुन नदिने सुनिश्चित गर्नुपर्छ।'
समितिका सदस्यहरुले विगतमा सरकारले चासो नदिएकाले नेपाल-भारत सीमा समस्या बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।