बुटवल- प्रदेश ५ सरकार र प्रदेश सभा सचिवालयले गाडी खरिदमा गरेको अनियमिततामा दोषी देखिएकालाई कारबाही गर्न नागरिक समाजले आन्दोलन थाल्नुपर्ने बताएका छन्।
रिर्पोटर्स क्लब प्रदेश ५ कार्यालयले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मानव अधिकारीवादी नेता कृष्ण पहाडीले यस्तो धारणा व्यक्त गरेका हुन्।
‘गाडी खरीदमा घोटाला गर्नेमा संलग्न भएकालाई तपाईं भोलि प्रमुख अतिथि बनाएर बोलाउने कि नबोलाउने वा कारबाही गर्ने?' उनले भने, 'जो-जसले गाडी खरिदमा अनियमितता गरेका छन्, उनीहरुलाई कारबाही गर्न आवाज उठाउनुस्।’
नागरिक समाजले जहिले पनि व्यक्तिभन्दा पनि विषय र प्रवृत्तिको विरोध गर्ने उल्लेख गर्दै देशभर भ्रष्टाचारको विरोधमा शान्ति समाजले अभियान थालेको बताए।
‘हामी भ्रष्टाचारको विरोध गर्छौं, तर सरकारविरोधी आन्दोलन गर्दैनौं, सरकार संसद्ले बनाएको हो, जनताले सांसद् चुनेका हुन्,' उनले भने, ‘हामी संसद्को सर्वोच्चतालाई मान्छौं र सरकार विरोधी वा सरकार परिवर्तन गर्ने आन्दोलन गर्दैनौं, हामी शान्तिपूर्ण आन्दोलनकै पक्षमा छौं।’
फरक प्रसंगमा उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले भेनेजुएला प्रकरणमा अमेरिकाको हस्तक्षेपका विषयलाई लिएर दिएको प्रतिक्रिया कूटनीतिक रुपमा कमजोरी भएको बताए।
‘अमेरिकाले भेनेजुएलामा सैन्य हस्तक्षेप गरेको छैन, उसले भनेका कुरामा विमति हुन सक्छन्, तर हाम्रो जस्तो सानो मुलुकले अरु दुई मुलुकका बीचमा भएका विवादमा प्रतिक्रिया दिन आवश्यक छैन,' उनले भने, 'दुईवटा हात्ती लँडे भने मिचिने भनेको घाँस हो, हामी त्यतातर्फ नजाऔं।’
पहाडीले नेपालमा भष्ट्राचार तीनै तहका सरकारमा देखिएको भन्दै भष्ट्रचारमा शून्य शहनिशीलताका लागि सबै एकजुट हुनुपर्ने बताए।
वाइडबढी विमान खरीद प्रकरणमा भएको भ्रष्टाचारका विषयमा संलग्नताको आरोप लागेका पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई बर्खास्त नगरेर प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो कमजोरी गरेको समेत उनले बताए।
स्थानीय तहमा समेत भागभन्डा गरेर भ्रष्टाचार बढेकोसमेत उनले बताए।
क्लबका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षमा भएको कार्यक्रममा शान्ति समाजका वरिष्ठ उपाध्यक्ष गोविन्द खनाललगायतले बोलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।