जनकपुर– पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समृद्ध देश निर्माणको लागि ३ खम्बे नीति अवलम्बन गर्नुपर्ने बताएका छन्। उनले देशलाई विकास गरी समृद्धको बाटोतर्फ डोहोर्याउनका लागि सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्र नीति अवलम्बन गरी अगाडी बढ्नुपर्ने धारणा व्यक्त गरे।
वर्दिवासस्थित आधारशीलाको १६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेकपाका वरिष्ठ नेता समेत रहेका नेपालले सम्भावना नै सम्भावना भएको देश भएको भन्दै देशलाई गरीबीबाट मुक्त गराएर सुन्दर नेपाल बनाउन सबै लाग्नुपर्ने बताए।
सुन्दर नेपाल बनाउन सहकारी माध्यमले ठूलो भूमिका खेल्ने उनको भनाइ छ ।
नेता नेपालले सामूहिक बसोबासको माध्यमले विभिन्न देशहरुले यो नीति अख्तियार गरी समृद्धिको बाटोतर्फ अग्रसरता लिइरहेका बेला नेपालले पनि यस्ता नीतिलाई अवलम्बन गर्दा समाजवाद उन्मुख हुने विश्वास व्यक्त गरे।
नेता नेपालले भने, ‘सामूहिक रुपमा बसोबास गरी समाज र व्यक्तित्वको समेत विकास तथा क्षमता अनुसार काममा एकरुपता देखिने भएकोले शरीर र क्षमता अनुसारको कामको विभाजन तथा आवश्यकता अनुसार हरेक क्षेत्रलाई सेमेट्ने गरी अघि बढेमा संविधान संगत रुपमा देश पनि समाजवाद तर्फ अग्रसरता पाउँछ।’
उनले संविधानमै समाजवाद उन्मुख भएको बताउँदै इजरायल, जर्मनी लगायतका देशमा सामुहिकताको नीति र सहकारी नीति अवलम्बन गरेकाले विकासोन्मुख र समृद्ध मुलुकको रुपमा अग्रसर रहेको प्रस्ट्याए। आधुनिक कृषि क्षेत्रको विकासका लागि समेत सामुहिक प्रणाली लाभदायक हुने नेपालले बताए।
उनले आधारशीलाको प्रशंसा गर्दै बहसको विषय बनाई यस तर्फ देशले अग्रसरता लिनुपर्ने भनाइ राखे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।