काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रियाका क्रममा गरिएका कतिपय निर्णयको पुनरावलोकन गर्ने र बाँकी कामको लागि मापदण्ड बनाउने लगायतका कार्यदेशसहित गठन भएको कार्यदले अहिलेसम्म गरेको कामको प्रतिवेदन बुझाउने भएको छ।
कार्यदलको आज बसेको बैठकले अहिलेसम्म भएका कामको प्रतिवेदन बुझाउने र बाँकी कामका लागि निर्देशन माग गर्ने निर्णय गरेको कार्यदल सदस्य वेदुराम भुसालले जानकारी दिए।
कार्यदलले अहिलेसम्मको छलफलबाट पार्टी विधानका केही विषय टुंगो लगाएको छ। 'विधानको विषय टुंगिएको छ। अन्य कतिपय विषयमा छलफल भएको छ। ती विषयहरु प्रतिवेदनमा समेटिनेछन्', भुसालले भने।
कार्यदलको सदस्यहरुबीच यसको समायवधिका विषयमा सदस्यहरुबीच नै विवाद थियो। संयोजक रामबहादुर थापा बादलले नै यसलाई असफल बनाउन लागिपरेको केही सदस्यको आरोप थियो। त्यसैले पनि कार्यदलको भविष्य के हुने भन्ने अन्योल थियो।
'भएका कामको प्रतिवेदन बुझाउने र बाँकी कामका लागि समय माग्ने भन्ने निर्णयमा सबैको सहमति छ', भुसालले भने।
कार्यदलको बैठक बिहीबार पनि बसेको थियो। बैठकमा संयोजक बादलले तीन पाने प्रतिवेदन सदस्यहरुलाई देखाएका थिए। उनले पार्टीमा त्यही प्रतिवेदन बुझाउने संकेत गरेपछि सदस्यहरुबीच विवाद भएको थियो। सदस्यहरुले संयोजकको प्रतिवेदन अध्ययन गर्ने भन्दै आजसम्मका लागि बैठक स्थगित गरिएको थियो।
'संयोजकले सम्भवतः भोलि नै अध्यक्षलाई भेटेर प्रतिवेदन बुझाउनुहुनेछ', भुसालले प्रष्ट पारे।
सचिवालयले गर्दै आएको निर्णयहरु विवादमा पर्न थालेपछि गत मंसिर २९ देखि पुस १३ सम्म चलेको पार्टीको स्थायी समिति बैठकले ९ सदस्यीय कार्यदल गठन गरेको थियो।
कार्यदललाई १० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको भए पनि उसले झन्डै डेढ महिनासम्म पनि प्रतिवेदन तयार पार्न सकेको थिएन। कार्यदलको बैठक नै नियमित बसेको थिएन।
यसैबीच, सोमबार बसेको पार्टीको सचिवालय बैठकले मंगलबार नै प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।