काठमाडौै– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौतामा गरिएका प्रतिबद्धता लागू नगरिए नचाहँदा-नचाहँदै पनि देशमा पुन: द्वन्द्व उत्पन्न हुने चेतावनी दिएका छन्।
वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधानद्वारा लिखित 'न्यायिक समितिः कार्यविधि र प्रक्रिया’ पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रचण्डले संविधानले प्रत्याभूत गरिएका अधिकार हनन् हुने परिस्थिति आए स्थिति भयानक हुने चेतावनी दिए।
‘भ्रष्टाचारको पुरानो रोगलाई निदान गर्ने परिकल्पना गरिएको थियो, तर हामी पुरानै कार्यशैली, परम्परामा छौं,’ वर्तमान परिस्थितिप्रति खिन्नता प्रकट गर्दै उनले भने, ‘फेरि उस्तै जतासुकै, भयो कि? अब द्वन्द्व भयो भने त्यो कति भयानक होला त? नेपालले धान्न सक्ला त? विचार गर्नुपर्ने कुरा छ यो।’
प्रचण्डले अहिलेकै अवस्था निरन्तर रहेमा मधेसमा एक ढंगले र पहाडमा अर्को ढंगले विकराल स्थिति उत्पन्न हुने औंल्याए। उक्त परिस्थिति उत्पन्न भए विगतमा जस्तै १२ बुँदे र शान्ति सम्झौताजस्तै सहज तरिकाले समाधान ननिस्कने चेतावनी उनले दिए।
‘शान्ति प्रक्रियामा हिजो लडेकाहरु अहिले निधार खुम्च्याएर सोच्नुपर्ने अवस्था आएको छ,’ दाहालले भने, ‘हल्कारुपमा सोचिरह्यो भने देशलाई गाह्रो पर्नसक्छ।’ माओवादीलाई कसैले सिध्याइयो भन्ने ठानेको छ भने अर्को माओवादी जन्मन्छ। विभेदमा परेकालाई अधिकार दिने कुरालाई हल्कारुपमा लिएमा दुर्भाग्य हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।