काठमाडौं- नेकपाका सांसद हृदयश त्रिपाठीले कृषि मन्त्रालयले किसानको हितमा काम नगरेको भन्दै खारेजीको माग गरेका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले किसानको पक्षमा नभई बिचौलियाको पक्षमा मन्त्रालयले काम गर्दै आएको दाबी गर्दै खारेजीको माग गरे।
२०३४ सालदेखि अहिलेसम्म भएको कुल कृषि लगानीमा किसानमाथि जम्मा १८ प्रतिशत र किसानको नाममा विभिन्न तामझाममा ८२ प्रतिशत खर्च भएको भन्दै उनले कृषि मन्त्रालयको कार्यशैलीमा प्रश्न गरे। 'किसानको हितमा काम नगर्ने कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ। यो पनि बिचौलियाकै पक्षमा काम गर्ने रैछ,' आफूले पटकपटक उखु किसानको समस्याबारे कुरा उठाएको तर सरकारले नसुनेको भन्दै उनले थपे, 'जसलाई लाज लाग्नुपर्ने हो उसलाई लाज नलागेकाले हुनाले मैले पुन: लाज नमानीकन भन्दैछु।'
जुनसुकै सरकार आए पनि सबै सरकारबाट किसानहरु उपेक्षित हुँदै आएको र बिचौलियाहरु मालामाल हुने गरेको भन्दै उनले सरकारले उखुको मुल्य तोके पनि मिलहरुले अहिलेसम्म किसानलाई दिन नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराए। उनले कृषि मन्त्रालयको जटिल सर्कुलेसनको कारण २५ देखि ३० प्रतिशत किसानले मात्रै गत बर्षको उखुको मुल्य पाएको तर यसबर्षको भने बाँकी नै रहेको दाबी गरे।
उनले चिनी उत्पादनका लागि मिल ढिलो चलेको हुनाले जेठ असारतिर चिनीको संकट उत्पन्न हुने बताए।
सरकार र उद्योगीले आआफ्नो हितमा किसानलाई सधै बलि दिने गरेको आरोप पनि उनले लगाए। 'देवीले बाघ भालुको बलि मागेको छैन। देवीले माग्ने भनेको निर्बलको बलि हो। व्यापारी, उद्योगपति, चिनी उद्योगपति र सरकारको लडाइँमा बलि चढे उखु किसानहरु। र, यी तीनवटैले बलि दिए किसानलाई,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।