काठमाडौं- राष्ट्रियसभाले विभिन्न ४ वटा विधेयकलाई दफावार छलफलका लागि विधायन समितिमा पठाएको छ।
शुक्रबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त निवृत्तिभरणकोष विधेयक, नागरिक लगानी कोष दोस्रो संशोसन विधेयक, विज्ञापन नियमन गर्ने विधेयक २०७५ र जेष्ठ नागरिक सम्बन्धी पहिलो संशोधन विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन समितिमा पठाएको हो।
बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले तीनवटै विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको तर्फबाट अर्थमन्त्री डा खतिवडाले विज्ञापन नियमन गर्ने विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव गरेका थिए।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले जेष्ठ नागरिक सम्बन्धी पहिलो संशोधन विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस् भनी प्रस्ताव गरिन्।
शुक्रबारको बैठकको सुरुमा सचिव राजेन्द्र फुँयालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोग दोस्रो संशोधन विधेयक २०७५ प्रतिनिधिसभाको २३ गतेको बैठकबाट संशोधनबिना पारित भएको सन्देश प्राप्त भएको जानकारी गराएका थिए।
राष्ट्रियसभाको अर्को बैठक माघ २९ गते मंगलबार बिहान ११ बजे बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।