काठमाडौँ- ‘स्वच्छता मेरो पहिचान : सफाइ मेरो योगदान’ भन्ने मूल नाराका साथ बाग्मती सरसफाइ महाअभियानको ३०० औं हप्ताका अवसरमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ।
अगामी शनिबार बिहान ८ः३० बजे बाग्मती मनोहरा दोभानको शङ्खमूल क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विशेष कार्यक्रम आयोजना गरिन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
२०७० जेठ ५ गतेदेखि संस्थागत रूपमा बाग्मती सरसफाइ अभियान सुरु भएको थियो। १००औँ हप्तासम्म बाग्मती नदीमा मात्रै केन्द्रित सफाइ अभियान विस्तार हुँदै विष्णुमती, रुद्रमती (धोबीखोला), नख्खु, कर्मनाशा (कोडकु), इन्द्रमती (बल्खु), मनोहरा, हनुमन्ते नदी तथा चक्रपथ सफाइसम्म पुग्यो। २००औँ हप्तासम्म सुन्दरीजलदेखि चोभारसम्म पदयात्रा तथा अभियानलाई कार्यान्वयन गर्न १० बुँदे घोषणापत्र जारी भएको थियो।
यस अवधिमा करिब १८ हजार मेट्रिक टन फोहर उठाइसकिएको छ। यस कार्यमा एक हजार ८५० सङ्घसंस्था आबद्ध रही करिब १० लाख स्वयंसेवी परिचालन भएका थिए।
सहरी विकास मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मोहम्मद इश्तियाक राईले बाग्मती सरसफाइ महाअभियानको ३००औं हप्ता पुगेको अवसरमा विशेष कार्यक्रम आयोजन गर्न लागिएको जानकारी दिँदै कार्यक्रममा सहभागी हुन आह्वान गरे।
उनका अनुसार सो अवसरमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले सरसफाइमा प्रतिबद्ध हुन सपथग्रहण गराउने, अभियानकर्मीलाई सम्मान गर्ने लगायतका कार्यक्रम छन्।
सोही दिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहमा विशेष सरसफाइ अभियानसमेत सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।