काठमाडौं- प्रतिनिधिसभाका सांसदहरुले मुलुकको विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।
संघीय संसदको संसदीय सुनुवाइ विशेष समितिको बिहीबारको बैठकमा बोल्दै पुष्पा भुसाल, सुरेन्द्र पाण्डे लगायतका प्रतिनिधिसभाका सांसदहरुले विदेश नीति कमजोर बनेको भन्दै चिन्ता व्यक्त गरे।
समितिका सदस्य पाण्डेले समृद्धिको रटानलाई आधार मानेर राजदूत नियुक्तिको कामलाई अघि बढाइएको भन्दै आपत्ति जनाए। सरकारले समृद्धि भन्ने तर समृद्धिको भिजन नभएकाहरुलाई राजदूत नियुक्त गर्ने गरेको उनको आरोप छ।
समितिकी सदस्य पुष्पा भुसालले मुलुकको विदेश नीति कमजोर रहेको दाबी गरिन्। उनले मुलुकको समृद्धिका लागि आवश्यक योगदान दिन सक्ने क्षमता भएकाहरुलाई राजदूत बनाउन नसक्दा मुलुकको विदेश नीति प्रभावकारी ढंगले अघि बढाउन नसकिएको तर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।
यता, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने सरकारको विदेश नीति कमजोर रहेको भन्ने सांसदहरुको भनाइ सत्य नभएको दाबी गरे।
मुलुकको विदेश नीति सुदृढ हुँदै गएको भन्दै उनले समृद्धिको अभियानलाई तीव्रता दिनेगरी कूटनीतिक सम्बन्धलाई अघि बढाउने गरी राजदूत नियुक्तिको कामलाई अघि बढाइएको बताए।
परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले राजदूत पद रिक्त हुन नदिन सरकारले ३ महिनाअघि नै नियुक्ति प्रक्रिया अघि बढाउने नयाँ व्यवस्था गरेको पनि समितिलाई जानकारी गराए।
गत असार २४ गते बसेको मन्त्रिपरिषद् बैठकबाट पारित गरेको राजदूत नियुक्तिसम्बन्धी निर्देशिकामा पद खाली हुनु ३ महिनाअघि नै नियुक्ति प्रक्रिया सुरु गर्ने नयाँ व्यवस्था गरिएको छ।
परराष्ट्रमन्त्री ज्ञवालीले राजदूत नियुक्ति गर्दा समावेशी सिद्धान्तलाई अवलम्बन गरिएको पनि दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।