काठमाडौं- भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले नेपालको निर्यात व्यापार बढाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता गरेका छन्।
राजदूत आचार्यले मुलुकको समृद्धिका लागि निर्यात व्यापारमा जोड दिन आवश्यक रहेकाले आफूले सोही कामलाई प्राथमिकताका साथ अघि बढाउने बताएका हुन्।
बिहीबार नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा आयोजना गरेको नवनियुक्त राजदूतको सम्मान कार्यक्रममा बोल्दै उनले आर्थिक कूटनीतिका लागि आवश्यक सुझाव दिन निजी क्षेत्रका व्यवसायीलाई आग्रह गरे।
आर्थिक कूटनीतिको माध्यमबाट मुलुकमा लगानी भित्रयाउन आवश्यक पहल गर्ने समेत नवनियुक्त राजदुत आचार्यको योजना छ। 'कृषि, पर्यटन, जडिबुटी र जलविद्युत क्षेत्रमा भारतीय लगानी बढाउन पनि पहल गर्छु,' राजदूत आचार्यले भने।
राजदूत आचार्यले नेपालमा लगानी बढाउन निजी क्षेत्रका व्यवसायीले ठोस योजना बनाउनुपर्ने आवश्यकता पनि औंल्याए।
कार्यक्रममा विभिन्न मुलुकमा लागि नियुक्त गरिएका राजदूतहरुको सम्मान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।