काठमाडौं- सुदूरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण मुलुकभर वर्षा र हिमपात सुरु भएको छ।
जम्मु-काश्मिर हुँदै नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले पश्चिमबाट पूर्वतिर प्रभाव पार्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपात हुने सम्भावना रहेको बताइएको छ।
महाशाखाका मौसमविद् वरुण पौडेल मौसमको यो प्रणालीले पश्चिममा बुधबार दिउँसोदेखि नै प्रभाव पारेको र बिहीबार बिहान काठमाडौंसम्म आइपुगेको जानकारी दिँदै भने, 'अहिले काठमाडौं तथा पश्चिमतिरका क्षेत्रमा पानी परिहेको छ।' यो क्रम पूर्वतिर सरिरहेको र पूर्वतिर आज पानी पर्ने जानकारी गराए। उनले यो अवस्था तीन दिनसम्म कायम रहनसक्ने आँकलन गरे।
हिमाली क्षेत्रमा पनि व्यापक हिमपातको सम्भावना देखिएको छ। 'बादलको प्रकृति हेर्दा पश्चिमी हिमाली क्षेत्रमा आज बिहानैदेखि हिमपात भएको हुनुपर्छ, शुक्रबार काठमाडौं आसपासका अग्ला भू-भाग फुलचाेकी, दामन, चन्द्रगिरिलगायत स्थानमा पनि हल्का हिमपात हुने देखिन्छ', मौसमविद् पौडेलले भने।
मौसमको यो प्रणालीले केही जाडो बढाउने देखिन्छ। आकाश खुल्ने र घाम लाग्ने स्थिति नभएकाले दिउँसोको तापक्रम कम भई केही बढी चिसो महसुस हुनेछ। शनिबारसम्म पश्चिममा आकाश केही खुल्ने जानकारी दिँदै उनले काठमाडौं पूर्वतिर भने शनिबार पनि यसकाे प्रभाव देखिने बताए।
'पूरै देशभरिको आकाश खुल्न भने आइतबारसम्म नै कुनुपर्छ', मौसमविद् पौडेलले भने। विभागले मौसमको तीन दिनको पूर्वानुमान गर्दै सूचना सार्वजनिक गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।