काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउने उद्देश्यले मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीका प्रतिनिधिहरु बीच वार्ता भईरहेको छ। वार्ता सिंगापुरमा जारी छ।
सिएमसी कम्पनीले राखेका केही मागका विषयमा छलफल भईरहेको छ। मेलम्चीको काम छिटोभन्दा छिटो सक्न सकेसम्म यही ठेकेदार कम्पनीबाट काम गराउने नभए विकल्पका रुपमा अन्य कदम चाल्ने विषयमा खानेपानी मन्त्रालयले गृहकार्य गरिहेको छ।
आयोजनाको काम नसकी भागेको इटालियन कम्पनी सीएमसीलाई ठेक्का खारेजी किन नगर्ने भन्दै त्यसको कारण भए १४ दिनभित्र जवाफ पठाउन सरकारले गत माघ ६ गते पत्राचार गरेको थियो।भोलिसम्म थप छलफल गर्न वार्ता भईरहेको बताइएको छ। सिएमसीसँग सिंगापुरमा पहिलो चरणको वार्ता भईरहेको हो।
यसअघि औपचारिक र अनौपचारिक रुपमा सिएमसीका प्रतिनिधिहरुसँग छलफल भईरहेको थियो। दिल्लीस्थित नेपाली र ईटालीका राजदूतबीच यस विषयमा छलफल समेत भएको थियो।
यसअघि सीएमसीलाई पठाइएको पत्रमा मेलम्ची खानेपानी समितिलाई कुनै जानकारी नदिई आयोजनास्थल छाडेर भागेको उल्लेख गर्दै यसका कारणसहित जवाफ दिन भनिएको थियो।
त्यसैगरी आर्थिक रूपमा टाट पल्टेको भन्दै खारेजीका लागि इटाली सरकारलाई सीएमसीले निवेदन दिएको विषयमा स्पष्ट पार्न पनि उल्लेख गरिएको थियो।
ठेकेदार कम्पनी सिएमसीसँग कुनै सहमति नभए सरकारले कानुनी व्यवधान नआउने गरी औपचारिक रुपमा ठेक्का सम्झौता तोड्ने बाटो खुल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।