जनकपुर– विदेशी विनिमय अपचलन (हुन्डी) मा सर्वाधिक बिगो दाबी गरी सोमबार धनुषा जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
राजस्व अनुसन्धान विभागले ८ जनाविरुद्ध ४ अर्ब १६ करोड बिगो दाबी गर्दै मुद्दा दायर गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए।
हुन्डी कारोवारी ८ जना माथि राजश्व अनुसन्धान विभागले अहिलेसम्म कै सर्वाधिक बिगो दाबीसहित सोमबार धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। आरोपीमध्ये ३ जना भारतीय नागरिक छन्।
हुन्डी कारोबारमा संलग्नताको अभियोगमा जनकपुर उपमहानगर-११ का रामेश्वर पुर्वे, मिनादेवी साह, विजय यादव, उपमहानगर कै वडा नम्बर ७ का मोख्तार अममद, सन्तोष महतो, भारत विहार मधुवनी बासोपट्टीका नरेश महतो, सुरज ठाकुर र भारत पूर्वी चम्पारण मधुवनीका पप्पुकुमार दासविरूद्ध अवैध हुन्डी कारोबारको अभियोग लगाइएको छ।
गत पुस २२ गते गोप्य सूचनाका आधारमा छापा मारी जनकपुरधाम-११, किसोरीनगरबाट हुन्डी कारोबारीहरूलाई पक्राउ गरिएको थियो। उनीहरूले स्थानीय रामेश्वर साहको घरबाट कारोबार गरिरहेको धनुषा प्रहरीले जनाएको छ। प्रहरीले भारतीय रूपैंयासहित विभिन्न बैंकका ३१ थान चेकबुकहरू, एटिएम कार्ड र अन्य कागजात बरामद गरेको थियो।
प्रतिवादीमध्ये पुर्वे र साह फरार छन् भने पप्पुकुमार १५ वर्षीय किशाेर हुन्। अभियुक्तहरू यादव, अहमद, ठाकुर र महतोद्वयलाई अभियोगपत्रसँगै अदालतमा पेस गरिएको विभागका महानिर्देशक मैनालीले बताए। ‘अभियुक्तहरूले दुबैतिर कमिसन लिएर अवैध कारोबार गरेको देखिएको छ', मैनालीले बताए।
आपसी मिलिभगतमा ‘ह्वाट्सएप एप्लिकेसन’को माध्यमबाट ४ अर्ब १६ करोड ३३ लाख ३१ हजार ९ सय १० रूपैयाँ ७५ पैसा बराबरको अन्तरदेशीय हुन्डी कारोबार गरेको दाबी विभागको छ।
एकजना १५ वर्षका किशाेर रहेकाले वयस्कलाई हुने सजायको आधा सजाय तोक्न माग गरिएको छ। विभागका महानिर्देशक मैनालीले हुन्डीमा ‘रेकर्ड ब्रेक’ भएको दाबी गरे। अभियुक्तमध्ये ६ जना पक्राउ परेका छन्। विभागको निर्णयअनुरूप राजश्व अनुसन्धान कार्यालय पथलैयाले मुद्दा दायर गरेको हो।
'अवैध कारोबारबाट एकातर्फ विदेशी मुद्रा आउन रोकियो। अर्कोतिर न्यून विजकीकरण भएर व्यापारिक सामानहरू आउने भयो,’ मैनालीले भने, ‘यसरी ३० प्रतिशत मात्र मान्दा पनि औसत सवा अर्ब राजश्व घाटा बेहोर्नुपर्ने हुन्छ। आयकर र भन्सार डिक्लियर नहुने कारणले बजारमा पनि कुनै रेकर्ड नहुने अवस्था रहन्छ।’
आपसी मिलिभगतमा ‘ह्वाट्सएप एप्लिकेसन’ प्रविधिको माध्यमबाट परस्पर हुन्डी कारोबार विवरणहरू सांकेतिक शब्द र चिन्हहरू प्रयोग गरी गुटमेलका कारोबारीसँग आदानप्रदान गरिएको अभियोगपत्रमा उल्लेख छ। अनुसन्धानका क्रममा विदेशी मुद्रा र नेपाली रुपैयाँ हुन्डीको माध्यमबाट अवैध अन्तरदेशीय कारोबार गरेको पुष्टि भएको दाबी विभागको छ।
अनुसन्धानबाट जफत गरिएका भौचर र बहिखाताबाट ४ अर्ब, १५ करोड ४९ लाख, ५२ हजार दुई सय ५१ रुपैयाँ कारोबार भएको फेला परेको छ।
यस्तै साहको जनकपुर-११ स्थित घरबाट ८३ लाख ६९ हजार दुई सय ५० नेपाली रूपैयाँ र ६ हजार पाँच सय भारतीय रूपैयाँ भेटिएको छ।
प्रतिवादीहरूले गरेको उक्त कार्य विदेशी विनिमय ऐन, २०१९ को दफा ३ (१), ४ (१) र ४ (२) तथा दफा ९ (ग) को उपदफा क, ख र ग विपरीत कसुर अपराध गरेको दाबी गरिएको छ। ती दफाहरूमा अवैध हुन्डी कारोबारको परिभाषा र अपराधको वर्गीकरण गरिएको छ। उनीहरूलाई सोही ऐनको दफा १७ (१) अनुरूप जरिवाना गर्न समेत माग छ। उक्त दफामा यस्तो अपराधमा बिगोको तेब्बर जरिवानाको व्यवस्था छ।
ऐनअनुसार कसुरको बिगो एक करोड रूपैयाँभन्दा बढी भएको अवस्थामा अदालतले थप सजायसमेत तोक्न सक्ने व्यवस्था छ।
यो समूहले तेश्रो मुलुकहरू अस्ट्रेलिया, चीन, मलेसिया र खाडी देशमा हुन्डी मार्फत रकम लिने दिने गर्दै आएको प्रहरी अनुसन्धानमा फेला परेको छ। बैकिङ च्यानल प्रयोग नगरी ‘एजेन्ट’मार्फत सोझै रकमको कारोबार हुन्डीमा गर्ने गरिन्छ।
कसलाई कति बिगाे दाबी र सजाय?

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।